चीनमा पढाइ, नेपालीका निम्ति अवसर धेरै छन्

चीनमा पढाइ, नेपालीका निम्ति अवसर धेरै छन्

वैदेशिक उच्च शिक्षाका कारण पछिल्लो समय धेरै नेपाली परिवारमा देखिएको एक्लोपनालगायतका विश्रृंखलता रोक्न चिनियाँ विश्वविद्यालयहरु साधक हुनसक्ने अनुमान गरिएको छ । युरोप,अमेरिका,जापान,क्यानाडा,अष्ट्रेलिया र न्युजिल्याण्डमा उच्च अध्ययनार्थ गएका नेपाली विद्यार्थीहरु औपचारिक पढाइ सकेर उतै बस्न थालेपछि धेरै अभिभावकले स्वदेशमा एक्लोपन महसुस गर्न थालेको सन्दर्भमा छिमेकी मित्रराष्ट्र चीनमा गरिने अध्ययनले त्यसलाई केही हदसम्म रोक्नसक्ने विज्ञहरुले बताएका छन् ।

पर्सिदेखि राजधानीको हायात होटलमा हुन लागेको चिनियाँ उच्च शिक्षा प्रदर्शनीबारे जानकारी दिन आज दिउँसो आयोजित पत्रकार सम्मेलनमा सहभागी अतिथिहरुले नेपाल-चीन सम्वन्धको यो आयामवारे धारणा राख्दै थिए । नेपाल–चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले पश्चिमा मुलुकका विश्वविद्यालयमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या एक लाख १८ हजार नाघेको,जापानदेखि अमेरिकासम्म पढ्न जाने विद्यार्थीले १५ देखि ३० लाखसम्म शुरुमा लगानी गर्दा त्यसबाट ३ अर्ब ४२ करोड विदेशी मुद्रा बाहिरिएको र कालान्तरमा ती विद्यार्थी स्वदेश नफर्केको तथ्यांक प्रस्तुत गर्दै चीनको छात्रवृत्ति,तुलनात्मक रुपमा किफायती शुल्कका विश्वविद्यालय र दूरीको हिसाबले निकै छोटो पक्षलाई नेपाली विद्यार्थी,तिनका अभिभावक,नेपाल सरकार र चिनियाँ पक्षले बेलैमा मनन गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले बितेका ४ बर्षमा बिदेशबाट ३४६० बिध्यार्थी मात्र नेपालमा पढ्न आएको तथ्यांक प्रस्तुत गर्दै यसलाई बढाउनतर्फ सरकारको पनि ध्यानाकर्षण गराउनुभयो ।

‘विश्वका उत्कृष्ट विश्वविद्यालयहरुको सूचीमा चीनका पनि धेरै छन् । अनुशासित अध्यापन र शैक्षिक वातावरणसँगै नेपालसँगको भौगोलिक दूरी निकै छोटो भएकाले विद्यार्थी र अभिभावकले यसतर्फ ध्यान दिन जरुरी छ,’ उल्लेख गर्दै उहाँले भन्नुभयो,‘पश्चिमा मुलुक पुगेपछि घर नफर्कने नेपाली विद्यार्थीका कारण एकातिर मुलुकको विदेशी मुद्रा सञ्चितिमा असर परेको छ । अर्कोतर्फ ढल्कँदो उमेरका अभिभावकहरुले चिन्तासँगै एक्लो पना महसुस गर्न थालेका छन् ।’ 

सूचना प्रविधि,कृषि,इन्जिनियरिङ र चिकित्सा शास्त्रमा चिनियाँ विश्वविद्यालय अब्बल हुँदै गएकाले चीनभित्रै पनि अवसरको कमी छैन ।

उक्त चिन्तालाई रोक्न कम्तीमा चिनियाँ विश्वविद्यालयहरु विकल्प बन्न सक्ने उहाँको धारणा छ । सूचना प्रविधि,कृषि,इन्जिनियरिङ र चिकित्सा शास्त्रमा चिनियाँ विश्वविद्यालय अब्बल हुँदै गएकाले चीनभित्रै पनि अवसरको कमी छैन । यसवीच पर्सि हुन लागेको चिनियाँ शैक्षिक प्रदर्शनीले नेपाली विद्यार्थी र अभिभावकहरुलाई त्यसबारे खुलस्त जानकारी दिने आयोजक संस्था नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषदले जनाएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावाससङ्ग संयुक्त आयोजनामा हुन लागेको प्रदर्शनीबारे जानकारी दिँदै परिषद अध्यक्ष डा.हरिश्चन्द्र साहले भन्नुभयो , ‘विश्वका उत्कृष्ट विश्वविद्यालयको सूचीमा रहेका छिङ्हुवा,थेन्चिन,सियामन,हुआचोङ्गसहित ३१ वटा संस्था यस कार्यक्रममा सहभागी हुँदै छन् । हाल चीनमा १६० मुलुकका पाँच लाखबढी विदेशी विद्यार्थी अध्ययनरत छन् । नेपाल सरकारलाई चीनले प्रत्येक वर्ष दुई सय छात्रवृत्ति कोटा उपलब्ध गराउँदै आएको छ ।’

२१ वर्षअघि सन् २००३ मा पहिलो पटक यस प्रकारको प्रदर्शनी आयोजना गरिएको थियो । अहिलेको आठौं प्रदर्शनी त्यसैको निरन्तरता हो जसमा सहभागी हुने विश्वविद्यालयमा इञ्जिनियरिङ,मेडिसिन,भाषा,संस्कृति र वाणिज्य, विज्ञान तथा प्रविधि,नागरिक उड्डयन,खेलकुद, कृषि विषयक अध्यापन गराइन्छ । त्यसबारे विस्तृत जानकारी मंगलबार बिहान साढे ९ बजेदेखि होटल हायातमा आयोजना गर्न लागिएको प्रदर्शनीमा प्राप्त हुने अध्यक्ष साहको भनाई छ ।

चिनियाँ दूतावासका उपनियोग प्रमुख वाङ सिनले नेपालमा आठौं पटक हुन लागेको प्रदर्शनी सफलताको कामना गर्दै हरेक वर्ष हजारौं नेपाली विद्यार्थी चीनमा अध्ययनका लागि जाने गरेको तथ्य प्रस्तुत गर्नुभयो । र,भन्नुभयो,‘चीनमा उच्च शिक्षा अध्ययन गरेका नेपालीले स्वदेशको भौतिक निर्माण,आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् । हामी अझै धेरै नेपाली विद्यार्थीलाई चीनमा पढाइको अवसर दिन तयार छौँ । ’सन २०१९ मा रास्ट्रपति सि चिन्फिङ्गद्वारा सम्पन्न नेपाल भ्रमण र गत बर्ष प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका सन्दर्भ स्मरण गर्दै उहाँले प्रतिवध्दता जनाउनुभयो- "एकार्काको सभ्यता र सँस्कृतिबाट सिक्दै शिक्षा,सँस्कृति,युवा,थिँक ट्याँकजस्ता कुराहरुमा सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने समझदारीहरुको कार्यान्वयनमा हामी क्रियाशील छौँ ।"

स्मरण रहोस्,चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १० महिनाको अवधिमा उच्च शिक्षा अध्ययनको नाममा ९५ अर्ब ८५ करोड बढी नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ । त्यस्ता मुलुकमा अमेरिका,बेलायत,युरोपका अन्य मुलुक,अष्ट्रेलिया र न्युजिल्याण्ड अग्रणी छन् । त्यसपछि जापान,कोरियालगायत मुलुक जानेको संख्या बाक्लो छ । चीनमा मुलुकको ढुकुटी खर्चेर अध्ययन गर्नेको संख्या न्यून छ । अधिकांश छात्रवृत्तिमा जाने विद्यार्थी भएकाले ती विद्यार्थीका कारण नेपालको विदेशी मुद्रा सञ्चितिमा खासै असर परेको पाइन्न ।

टिप्पणीहरू