वृद्धवृद्धालाई अनावश्यक कष्ट पुग्ने सरकारी निर्णय खारेजीको माग

वृद्धवृद्धालाई अनावश्यक कष्ट पुग्ने सरकारी निर्णय खारेजीको माग

सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता विमल पोखरेलले नेपालको संविधान २०७२ को धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशलगायतका आदेश जारीको माग गर्दै आज अदालतमा रिट दायर गरेका हुन् । 

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय अपरिपक्व, गैरजिम्मेवार र अव्यवहारिक भएको निवेदकको ठम्याई छ । सो भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने बाध्यकारी व्यवस्था कानुनमा कहीँ–कतै उल्लेख नभएको जानकारी गराउँदै उनले छोटो समयावधिमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिनु अन्यायपूर्ण रहेको बताएका छन् । 

रिट निवेदनमा भनिएको छ, ‘असार, साउन, भदौ अत्यधिक वर्षा हुने महिना हुन् भने बाढीपहिरो यी महिनामा जाने गर्दछ । वृद्धवृद्धाको शारीरिक तथा देशको भौगोलिक र मौसमको जटिल अवस्थामा जम्मा दुई महिनाको अवधिमा ईलाका प्रशासन कार्यालय वा जिल्ला प्रशासन कार्यालय पुगेर राष्ट्रिय परिचयपत्र बनाउनु असम्भव देखिन्छ । वर्षाको समयमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने उर्दी जारी गरिनु ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकमाथि अन्याय भएको छ ।’
सरकारको निर्णयले लाखौं वृद्धवृद्धा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुने अवस्था बनेको निवेदकको जिकिर छ । सरकारले हचुवाको भरमा सो निर्णय गरेको बताउँदै निवेदकले निर्णय कार्यान्वयन नगराउन सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गर्न माग गरेका छन् । 

त्यस्तै, वैज्ञानिक तरिकाले अभिलेखीकरण निश्चित गरी नियमावली बनाएर मात्र उपयुक्त निर्णय गर्नका लागि उत्प्रेषणको आदेशले परमादेशलगायतका उपयुक्त आदेश जारी गर्न पनि भनेका छन् । उक्त रिटको पेशी असार ४ गतेका लागि तोकिएको छ । सरकारले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ । सो निर्णयपछि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड लागेको छ ।

टिप्पणीहरू