बैठक रोकेर मेयर बालेन ब्राजिलतिर

बैठक रोकेर मेयर बालेन ब्राजिलतिर

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि वार्षिक नीति तथा कार्यक्रम पेश गरेको छ । गत जेठ ३२ गते मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय सभागृहमा आयोजित १५ औं अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्ताव गरेका थिए । 

‘सांस्कृतिक शहर,समृद्ध महानगर’ को परिकल्पनालाई साकार पार्ने,सुरक्षित,समावेशी, दिगो र जीवन्त शहर निर्माण गर्ने उद्देश्यले प्रस्ताव गरिएको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बिहान नगरसभाको बैठक बोलाइएको थियो । अन्य दिनझैं नगरसभाको बैठक शुरु भयो । 

तर, १५ मीनेट नबित्दै  स्थगित गरियो। नगरसभा बैठक शुरु हुनासाथ बालेनले नीति तथा कार्यक्रममाथि बोल्न चाहने कार्यपालिका सदस्यहरुलाई नाम टिपाउन पाँच मीनेट समय दिएका थिए । लगत्तै नेपाली काँग्रेस र नेकपा एमालेका वडाध्यक्षहरु बैठक बहिस्कार गरेर सभाहलबाट उठेर हिँडे । 

एकपछि अर्को गर्दै सभाहल नै रित्तिएपछि बालेनले बैठक स्थगनको घोषणा गरे । त्यसको केही बेरमै उनले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे । आगो भएर लेखिएको स्टाटसमा तीन वटा दललाई चेतावनी दिइएको छ । उनले एमाले, काँग्रेसको धङधङी बोकेर बैठकमा नआउन कार्यपालिका सदस्यहरुलाई चेतावनी दिएका हुन् । 

‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रुपमा चाँहि त्यसको औपचारिकता मात्र दिने काम काठमाडौं महानगरपालिकाले गर्दैन । काठमाडौं महानगरपालिकाको नगरसभामा काँग्रेस, एमालेको धङधङी बोकेर नआउनुहोला’,उनले लेखेका छन् ।

उनी रिसाउनुको कारण भने वडाध्यक्षहरु नभईकन ब्राजिल भ्रमण भएको बुझिएको छ । बालेन भोलि बिहान सवा २ बजे ब्राजिल जाँदैछन् । ‘मेट्रो पुलिस अथोरिटी अफ जेनियस कन्ट्री’ ले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी त्यता जान लागेका हुन् । 

कार्यक्रममा सहभागी भएर उनी असार ८ गते स्वदेश फर्किनेछन् । विदेश भ्रमणमा जान लागेका उनले कार्यपालिका सदस्यहरुको सहमतिविपरीत नगरसभाको बैठक बोलाएको जनाइएको छ । ‘आफू विदेश भ्रमणमा जानुपर्ने’ भन्दै उनले हतारमा वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न खोजेका थिए । 

जबकि कार्यपालिका सदस्यहरुले नीति तथा कार्यक्रममाथि छलफल गर्न समय मागेका थिए । तर, उनले जबरजस्ती बैठक बोलाएपछि बहिस्कार गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । 

‘कार्यपालिका सदस्यहरुले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न समय माग्नुभएको थियो । गहिराइमा छलफल गर्ने अनि मात्र नीति तथा कार्यक्रम पारित गर्ने उहाँहरुको प्रस्ताव थियो । तर, उहाँले समय पुग्दैन भनेर आजै नगरसभाको बैठक बोलाउनुभयो । कार्यपालिका सदस्यहरुले पर्याप्त छलफल गर्नुपर्ने अडान राखेपछि बैठक स्थगित गरिएको हो’, उनले भने । 

मानन्धरका अनुसार मेयर ब्राजिल भ्रमणबाट आएपछि मात्र नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । बालेनले आउँदो असार १० गते बिहान ११ बजेका लागि नगरसभाको बैठक बोलाएका छन् ।

टिप्पणीहरू