नदीजन्य पदार्थ चोरीमा प्रयोग भएका टिप्पर समातिए

नदीजन्य पदार्थ चोरीमा प्रयोग भएका टिप्पर समातिए

कास्की प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् तथा चोरी निकासीमा प्रयोग भएका दुई वटा सवारी साधन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीमातहत सिआरभी लामाचौर र अस्थायी प्रहरी पोष्ट हेम्जाबाट खटिएको टोलीले ती टिप्पर नियन्त्रणमा लिएको हो । 

पोखरा महानगरपालिका १९,करायाचौतारास्थित सडकखण्डमा सवारी चेकजाँचको क्रममा भुजुङखोलाबाट आउँदै गरेको ग. १ क ५२४८ नम्बरको मिनी टिप्परमा कटपिस ढुङ्गा भेटिएको जिप्रकाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्तकुमार शर्माले बताए । 

उक्त टिप्परलाई आवश्यक कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय,हरियोखर्क पठाइएको उनले जानकारी दिए । टोलीले वडा नम्बर २५, हेम्जास्थित पोखरा–बाग्लुङ सडकखण्डमा घट्टेखोलाबाट पोखरातर्फ आउँदै गरेको ग. १ क ५५९३ नम्बरको टिप्पर रोकेर चेकजाँच गरेको थियो ।
 
त्यस टिप्परमा कागजात नभएको छपनी ढुङ्गा फेला परेको हो । प्रहरीले आवश्यक कारबाहीका लागि बरामद ढुङ्गासहित टिप्पर पोखरा महानगरपालिकाको कार्यालय पठाएको छ ।
 

टिप्पणीहरू