टिस्यु पेपरमा लुकाएर कतारबाट ल्याएको सुन एयरपोर्ट बाहिर बरामद, तीनजना पक्राउ

टिस्यु पेपरमा लुकाएर कतारबाट ल्याएको सुन एयरपोर्ट बाहिर बरामद, तीनजना पक्राउ

कतारबाट आएका एक व्यक्ति अवैध सुनसहित समातिएका छन् । बाँकेको खजुरा घर भएका २४ वर्षीय मोहमद दिलसाद खाँलाई प्रहरीले आज सिनामंगलबाट सुनसहित नियन्त्रणमा लिएको हो । 

कतारबाट हिमालय एयरको उडानमार्फत काठमाडौँ ओर्लिएका उनको साथबाट सुनको ब्रासलेट र औँठी बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए । कम्मरमा सेतो टिस्यु पेपरले फोल्ड गरेर ६९.८९ ग्राम सुनको ब्रासलेट लुकाएर ल्याएका मोहमद समातिएका हुन् । त्यस्तै, उनको साथबाट ११. ६५ ग्रामको औँठी पनि बरामद भएको छ । 

उक्त सुन ओसारपसार कार्यमा संलग्न अन्य दुई जना पनि पक्राउ परेको प्रहरीले जनाएको छ । नवलपरासी गैडाकोटका ४३ बर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिकाका २५ वर्षीय अन्जिल गुरुङ समातिएका हुन् । तीनजना मिलेर योजनाबद्ध रुपमा अवैध सुनको कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

पक्राउ परेको तीन जनालाई बरामद भएको सुनसहित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । उनीहरुमाथि भन्सार ऐन, २०६४ अन्तर्गतको कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको पक्रिया अघि बढ्ने बताइएको छ ।

टिप्पणीहरू