मामाको योजनामा भान्जाको घरमा लुटपाट, बहालवाला प्रहरी पनि समातिए

‘सीआईबी प्रहरी हुँ’ भन्दै डाँका चोरी तथा लुटपाट गरेको आरोपमा सशस्त्र प्रहरी बल नेपालका बहालवाला हवल्दारसहित चार जना समातिएका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर बस्ने सिन्धुपाल्चोकका ३० वर्षीय सुजन रसाईली र ३१ वर्षीय भिमबहादुर तामाङ, ललितपुरको इमाडोल बस्ने ओखलढुंगाका ३६ वर्षीय मुनाराज राई र महाराजगञ्ज बस्ने सिन्धुपाल्चोकका ३८ वर्षीय कृष्णबहादुर बोहोरा छन् । जसमध्ये बोहोरा सशस्त्र प्रहरी गणनं. २ महाराजगञ्जमा कार्यरत रहेको खुल्न आएको छ । 

प्रहरीका अनुसार गत मंगलबार दिउँसो १ बजे भक्तपुरको सूर्यविनायक नगरपालिका-४, दधिकोट बस्ने ३५ वर्षीय डिल्लीबहादुर राउतको घरमा अपरिचित तीन युवक प्रवेश गरे । उनीहरुले 'सीआईबी प्रहरी हुँ' भनी परिचयपत्रसहित खुकुरीसमेत देखाएर दराजभित्र रहेको दुई करोड रुपैयाँ लुटेर लगेको प्रहरीको भनाइ छ । 

लुटपाटका मुख्य योजनाकार कुलबहादुर खत्री भने हाल फरार छन् । प्रहरीका अनुसार खत्री डिल्लीबहादुर राउतका मामा हुन् । उनैले वैदेशिक रोजगारको काम गर्ने सिलसिलामा चिनेका सुजनलाई राउतको घरमा धेरै रकम भएको जानकारी गराई लुट्ने योजना बनाएका थिए । लुट्ने योजनाअनुसार घटनाको अघिल्लो दिन खत्रीले सुजनलाई डिल्लीबहादुरको घर देखाई रेकी गर्न लगाएको प्रहरीको भनाइ छ । 

घटनाको केही घण्टाअघि भक्तपुरको कौशलटारस्थित लाइभ बर्गर एण्ड पिज्जा पोइटमा भेला भई छलफल गरेर घटनास्थलतर्फ लागेको र लुटेर ल्याएको रकम गोकर्णेश्वर नगरपालिका–४, माकलवारीस्थित भिमबहादुरको कोठामा पाँच जनालाई भागबण्ड लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

पक्राउ परेका सुजन यसअघि २०७६ कात्तिक ४ गते सुनजस्तो पहेलो धातु देखाएर ठगी गरेको मुद्दामा र गत वर्षको जेठ ११ गते अभद्र व्यवहारमा कारबाही भोगी छुटेको प्रहरीले जनाएको छ । 

प्रहरीले उनीहरुको साथबाट ३६ लाख ३५ हजार, घटनामा प्रयोग भएको बा.प्र. ०२–०४०प.५५३८ र बा.प्र.०२–०३३ प ६१७४ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल, मोबाइल दश थान, लुटिएको रकम बोक्न प्रयोग भएको झोला एउटा, लुटपाट गर्दा लगाएको कपडा तथा जुत्ता र खुकुरी एक थान समेत बरामद गरेको छ ।
 

टिप्पणीहरू