सात करोड ठगेपछि बेपत्ता सहकारीका अध्यक्ष भेटिए

सात करोड ठगेपछि बेपत्ता सहकारीका अध्यक्ष भेटिए

बचतकर्ताको निक्षेप अपचलन गरी फरार सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीन जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–२०, मानभवनमा रहेको उक्त सहकारीका अध्यक्ष पुल्चोक बस्ने ४३ वर्षीय सुनिल महर्जन, उपाध्यक्ष मंगलबजारकी ६० वर्षीया मलिका महर्जन र सचिव भक्तपुरको सूर्यविनायक बस्ने ३७ वर्षीय अर्पण कवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले सहकारी खोलेर सर्वसाधारणलाई आकर्षक ब्याजसँगै चाहिएको बखत निक्षेप झिक्न पाइने विश्वास दिलाएर रकम जम्मा गर्न लगाएका थिए । तर, आफुहरुले उक्त निक्षेप अपचलन गरी फरार भएको प्रहरीको आरोप छ । 

सहकारीमा कुल १२ सय बचतकर्ताको ४५ करोड निक्षेप रहेको पाइएको छ । त्यसमध्ये उनीहरुविरुद्ध हालसम्म सात करोड १३ लाख ४६ हजार रुपैयाँ ठगी गरेको जाहेरी परेको छ ।

सहकारी अध्यक्ष महर्जन २०६५ सालमा नरसिंह सहकारीको सदस्यको रुपमा चार वर्ष काम गरेको समेत खुल्न आएको छ । उनी २०७० सालदेखि सुयोग सहकारीको अध्यक्षमा रुपमा कार्यरत थिए । 

प्रहरीका अनुसार सञ्चालक समिति तथा पदाधिकारीमा आफन्त, चिनजान भएका वा आफुले भनेको मान्नेलाई राखेर उनले बचतकर्ताको रकम आफुखुशी प्रयोग गरेका हुन् ।

उनी बैंकिङ कसुर मुद्दामा समेत फरार प्रतिवादी रहेको खुलेको छ । यस्तै, मलिका २०७६ सालदेखि सहकारीको उपाध्यक्ष पदमा कार्यरत थिइन् । सोही वर्षदेखि सहकारीको सचिव पदमा कार्यरत अर्पण भने हाल भक्तपुरस्थित इवामुरा कलेजको प्रशासन शाखामा कार्यरत रहेको बुझिएको छ । 

तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको छ ।
 

टिप्पणीहरू