निरीह पशुमाथि निर्दयी बन्दै मानिस

निरीह पशुमाथि निर्दयी बन्दै मानिस
सुन्नुहोस्

पछिल्लो समय पशुमाथि व्यापक हिंसा हुन थालेको छ । मानव जातिमा मानवता हराउँदा पशुमाथि अत्याचार बढेको भन्न थालिएको छ । बिनाकसूर पशुलाई जघन्य अपराधीलाई झैं क्रुर व्यवहार गर्न थालिएको छ । 

काठमाडौंको कीर्तिपुर नगरपालिका ५, पांगामा केही दिनअघि एउटा सामुदायिक कुकुरमाथि निर्घात कुटपिट भयो । स्थानीय सुरेश महर्जनले पिटेका कारण कुकुरको आँखा निस्कियो । कुकुरको टाउको पनि फुटेको छ । स्नेहा केयर्सले कुकुरको उद्धार गरी उपचार गरिरहेको छ । गम्भीर घाइते उक्त कुकुरले हालसम्म मुन्टो उठाउन नसकेको बताइन्छ । 

कीर्तिपुर प्रहरीको नियन्त्रणमा रहेका महर्जनमाथि दोस्रोपटक म्याद थप गरेर अनुसन्धान थालिएको छ । ‘कुकुरले कुखुराको चल्ला खाइदिएकाले बदला लिएको’ महर्जनले प्रहरीसमक्ष बताएका छन् । सो घटनाको केही समयअघि मात्र इलाममा एउटा कुकुरको छाउरालाई जिउँदै पुरिएको थियो । 

गत जेठ ३२ गते सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भयो । कुकुरको छाउरालाई लठ्ठीले निर्ममतापूर्वक पिटेको भिडियोमा देख्न सकिन्छ । त्यसपछि उनीहरुले जिउँदै कुकुरलाई खाल्डो खनेर पुरेका हुन् । 

कुकुरको क्रुरतापूर्वक हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, इलामले तीन जनालाई पक्राउ गरेको थियो । देउमाई नगरपालिका ९, जीतपुर बस्ने २१ वर्ष दीक्षान्त मोरोहाङ लिम्बु, १७ वर्षीय संगम लिम्बु र १७ वर्षीय अशोक लिम्बु समातिएका हुन् । 

एक जना प्रहरी हिरासतमा छन् भने दुई जना नाबालिग भएकाले प्रहरीले छाडेको छ । गत चैतमा कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा एउटा कुकुरमाथि त्यस्तै दर्दनाक घटना भयो । एकजना स्थानीयले टाउकोमा ढुंगा र लठ्ठीले बारम्बार हिर्काएर कुकुरलाई मारेका थिए ।

ती व्यक्तिलाई कारबाहीको माग गर्दै संघकी अध्यक्ष स्नेहा श्रेष्ठ प्रहरीसमक्ष पुगिन् । तर, प्रहरीले उजुरी लिन मानेन् । बल्लतल्ल उजुरी दर्ता भएपनि दोषीमाथि हालसम्म कारबाही नभएको श्रेष्ठले जानकारी दिइन् । 

कञ्चनपुरको बेदकोट नगरपालिकाले पशु व्यवस्थापनको नाममा गत वर्ष बेवारिसे गाईहरुलाई जिउँदै पुरेको थियो । यी त केही उदाहरण मात्र हुन् । पशुमाथि अन्याय भएको घटना पछिल्लो समय दिनहुँजसो सार्वजनिक भइरहेको छ । पशुलाई अंगभंग हुनेगरी कुट्ने, घाइते बनाउने र मार्ने क्रम जारी छ । 

पशुहरु रोग र भोकले भन्दापनि मान्छेको कुटाइले मर्न थालेका छन् । आफ्नो पीडा बोलेर व्यक्त गर्न नसक्ने उनीहरुलाई पनि दुख्छ भन्ने संवेदना मानवले बिर्सन थालेका छन् । पशुलाई जे भेट्यो, त्यसले हिर्काउने गरिएको छ । मानव क्रुर बन्दा पशुलाई बाँच्नै महाभारत परेको भन्न थालिएको छ । 

सरकारले पशुपंक्षीको संरक्षण र उनीहरुको बाँच्ने अधिकारको सुनिश्चितताका लागि हालसम्म पर्याप्त कानुन बनाएको छैन । एकाध कानुन भएपनि प्रभावकारी रुपमा कार्यान्वयनमा जान सकेको छैन । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ मा पशुपन्छीसम्बन्धी हकबारे उल्लेख छ । परिच्छेदको दफा २९० मा पशुपंक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने भनिएको छ । 

उपदफा १ मा लेखिएको छ, ‘कसैले कुनै पशुपंक्षीलाई कुटी, हिर्काई वा बोक्नसक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सामथ्र्यभन्दा बढी दौडाई वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्नुहुँदैन ।’

त्यस्तै, दफा २९१ मा सार्वजनिकस्थलमा पशु वा पंक्षी मार्न नहुने उल्लेख छ । परम्परादेखि बली दिँदै आएको स्थानबाहेक अन्य स्थानमा पशु मार्न नपाइने कानुनी व्यवस्था छ । भनिएको छ,‘यस संहितामा अन्यथा व्यवस्था भएकोमा बाहेक कसैले पनि कुनै पशु वा पंक्षीलाई परम्परादेखि बली दिँदै आएको धार्मिक स्थलबाहेक अन्य कुनै पनि सार्वजनिक स्थलमा मार्नुहुँदैन ।’

गाई, गोरुलाई मारेमा तीन वर्ष, अंगभंग पारेमा छ महिना कैद र अन्य चोटपटक पुर्याएमा ५० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । त्यस्तै, पशुमाथि निर्दयी व्यवहार गरेमा तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँ जरिवाना गरिने प्रावधान छ । 

सार्वजनिक स्थलमा पशु बध गरेमा एक महिनासम्म कैद वा पाँच हजार जरिवाना गरिनेछ । तर, ‘अपराधी’ हरु सहजै कानुनको हातबाट उम्किरहेका छन् । प्रहरीले पशुसम्बन्धी उजुरीलाई हलुका रुपमा लिने पशु अधिकारकर्मीहरु बताउँछन्। 

कडा कानुन भएन : संघ

संघकी अध्यक्ष श्रेष्ठ पशुसँग सम्बन्धित ऐन नै नभएको बताउँछिन् । सरकारले पशुपंक्षीलाई ‘लेस प्रायोरिटी’ मा राखेको उनको भनाइ छ । ऐन निर्माणका लागि पटकपटक सरकारको ध्यानाकर्षण गराउँदापनि सुनुवाई नभएको श्रेष्ठको गुनासो छ । उनका अनुसार पशुपंक्षीको हकमा अहिलेपनि जनचेतनाको कमी छ । 

‘चाडपर्वमा हामी पशुको पूजा गर्छौं । अरु बेला पशुमाथि गरिने व्यवहार अत्यन्तै पीडादायी छ । अहिलेपनि जनचेतनाको कमी देखिन्छ । उनीहरुलाई पनि दुख्छ, पिट्नुहुँदैन भनेर सोचेको पाइँदैन । सरकारले पशुपंक्षीलाई कस्तो व्यवहार गर्ने भनेर पाठ्यक्रममै समेट्नुपर्ने हो । पशुपंक्षीका लागि कानुन पनि छैन । कानुन बनाउनका लागि हामीले बारम्बार सरकारको ध्यानाकर्षण गराइसकेका छौं, तैपनि बेवास्ता गरिएको छ’, उनले भनिन् ।

पशुमाथि अन्याय गर्नेविरुद्ध प्रहरीले उजुरी दर्तै गर्न नमान्ने उनको अनुभव छ । उजुरी दर्ता गराउन निकै कष्ट हुने गरेको श्रेष्ठले बताइन् । भन्छिन्, ‘पशुमाथि हिंसा भएपछि हामी उजुरी लिएर प्रहरीकहाँ पुग्छौं । तर, प्रहरीले दर्ता गर्न मान्दैन् ।

हात जोड्दा पनि उजुरी दर्ता गर्दैनन् । धेरै गाह्रो छ । सरकारले पशुका लागि कडा कानुन बनाउनुपर्ने हो । कानुन बनाएमा कसैले पशुलाई पीडा नै दिँदैनथे ।’ संघले पशुमाथि हुने हिंसा रोकथामका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

टिप्पणीहरू