टायल्समा लामो हात गर्ने जनप्रतिनिधि भ्रष्टाचारमा

टायल्समा लामो हात गर्ने जनप्रतिनिधि भ्रष्टाचारमा
सुन्नुहोस्

रौतहटको कटहरिया नगरपालिकाका मेयर र उपमेयर दुबै भ्रष्टाचारमा तानिएका छन् । 

सामुदायिक भवनमा टायल्स राख्दा अनियमितता गरेको अभियोगमा मेयर अजय प्रकाश र उपमेयर रिता देवीसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । 

मुद्दा चलाइएका अन्य आरोपितहरुमा प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह,इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख राम नरेशप्रसाद यादव, कार्यपालिका सदस्य समिश विक्रम साह र मनोजप्रसाद जैसवाल, इन्जिनियर मकसुद आलम, बौद्धिमाई उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार शाह, कोषाध्यक्ष बबिताकुमारी चौधरी र सचिव योगेन्द्र साह रहेका छन् । 

आर्थिक वर्ष २०७८-०७९ मा वडा नम्बर-२ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्सको काम गर्न रकम विनियोजन गरिएको थियो । तर, उनीहरुले आपसी साँठगांठमा स्वीकृत लागतअनुमान बमोजिमको काम नगरि रकम घोटाला गरेको  अख्तियारको दाबी छ । 

अख्तियारका अनुसार टायल्स फ्लोरिङको काम उपभोक्ता समितिमार्फत गर्ने गरी योजना सम्झौता भएको थियो । त्यसमा भुक्तानी सिफारिस भएको नापी किताबमा ११९४.४१ वर्गमिटर रहेकोमा फिल्डमा ७२०.८१ वर्गमिटर मात्र फ्लोरिङ भएको पाइएको छ । 

तर, ४७३.६० वर्गमिटर बढीमा फ्लोरिङ भएको नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयारी गरी उपभोक्ता समितिलाई १२ लाख ५२ हजार ९४१ रुपैयाँ भुक्तानी दिइएको अख्तियारको भनाइ छ । 

अख्तियारले दायर गरेको अबियोग पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम १२ लाख ५२ हजार ९४१ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना सजाय मागदावी गरिएको छ । 

भ्रष्टाचार आरोपित मेयर र उपमेयर दुबै गत स्थानीय चुनावमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।

टिप्पणीहरू