महिला इन्स्पेक्टरको सामुन्ने खुकुरी हानाहान

महिला इन्स्पेक्टरको सामुन्ने खुकुरी हानाहान

अञ्जनकुमार 

माइती गाउँको इलाका प्रहरी कार्यालयको प्रमुख बनेकी एउटी प्रहरी इन्स्पेक्टरको सामुन्नेबीच खुकुरी प्रहार भएको छ । लमजुङ जिल्लामा खटिएकी एक मात्र महिला इन्सपेक्टर चोनु गुरुङ कार्यालय इञ्चार्ज भएर आएको एक महिनामै सामुन्ने खुकुरी हानाहानको घटना देखेकी हुन् ।

इलाका प्रहरी कार्यालय सुन्दर बजार नगरपालिका–८, भोटेओडारकी इञ्चार्ज भएर आउँदा चोनुले निकै खुशी व्यक्त गरेकी थिइन् । आएको केही दिनमै लागूऔषध सेवनकर्ता तथा व्यापारी, अवैध नदीजन्य वस्तु उत्खनन्मा संलग्नलाई पक्राउ गर्ने क्रम ह्वात्तै बढेको थियो ।
त्यसैगरी हराएका व्यक्तिको खोजीमा पनि प्रहरी सफल बन्दै गएको श्रेय चोनुलाई गएको छ । तर सरुवा भएर आएको एक महिना नपुग्दै आफ्नै कार्यालय अगाडि भएको खुकुरी काण्डले भने तनावमा पुगेको बताइन्छ । 

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, अपराध अनुसन्धान विश्लेषण शाखाबाट सरुवा भएर उनी जेठ २ गते भोटेओडार पुगेकी हुन् । दुधपोखरी गाउँपालिका–६ ओखरीका ४५ वर्षीय लिलिजंङ गुरुङ र दोर्दी गाउँपालिका–४ नौथरका ४० वर्षीय मंगल गुरुङमाथि सुनपा–९ का आकाश घलेसहितका युवाहरुले हत्या प्रयासका साथ खुकुरी प्रहार गरेका थिए । घटनामा लिलिजंङको टाउकोमा गहिरो चोट लागेको बताइन्छ ।

८ अर्ब ८० करोड लागतमा पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजनाको कवाडी सामानबारे सामान्य विवाद हुँदा आकाशले अकस्मात लिलिजङमाथि खुकुरी प्रहार गरेका थिए । खास रिसिइवी लिलिजङका भाइ प्रकाश गुरुङसँग भएपनि उनी भागेपछि उक्त मारमा लिलिजङ परेका हुन् । 

प्रहरीले खुकुरी प्रहारमा संलग्न सुन्दरबजार नगरपालिका–९ बालुनेका ३० वर्षीय आकाश घलेसहित चारजनालाई पक्राउ गरेर ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ । असार ३ गते पक्राउ परेका दोर्दी–५ पाचोकका ३६ वर्षीय भीमसेन गुरुङ, सोही पालिका ६, ताँजेका ३१ वर्षीय पूर्णबहादुर तामाङ ७, लप्सीबोटका ३८ वर्षीय प्रवीण गुरुङलाई जिल्ला अदालत लमजुङको आदेशपछि जनही ५० हजार धरौटी जमानीमा अस्ति रिहा भएका छन् । मुख्य आरोपी आकाश घलेलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

टिप्पणीहरू