ओलीको सपथ र टिंकर नाका खुला एकै दिन

ओलीको सपथ र टिंकर नाका खुला एकै दिन

काठमाडौंमा नयाँ सरकारको प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले सपथ लिएकै दिन दार्चुलाको उत्तरीक्षेत्रमा पर्ने नेपाल–चीन सिमानाका तिंकर खुलेको छ । चिनियाँ पक्षले नाका खुलेको जानकारी पठाएको छ र नेपाली व्यापारीलाई ताक्लाकोट आउन भनेको छ ।

अतिक्रमित भूमिको छेउ भएर जोडिएको यो नाका ५ वर्षदेखि बन्द थियो । व्यासक्षेत्रका स्थानीयमार्फत नाका खुला गरिएको अनौपचारिक जानकारी मिलेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो ।

छाङरू गाउँका केही स्थानीय मंगलवारभित्रै ताक्लाकोटतर्फ प्रस्थान गरेको वडाअध्यक्ष बोहराले बताउनुभयो । तिंकर गाउँका स्थानीय भने साउन ६ गतेको पूर्णिमापछि ताक्लाकोट जाने तयारीमा छन् । गुरूपूर्णिमाको अवसरमा गाउँमा पूजापाठ हुने भएकोले त्यसपछि मात्रै ती ताक्लाकोटतर्फ जानेछन् । 

तिंकरको छियालेकस्थित सशस्त्र प्रहरीको बिओपीले तिंकर नाका भएर ताक्लाकोट आवतजावत गर्ने सबै नागरिकको अभिलेख राख्ने गरेको छ । छियालेकमा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय पनि सञ्चालित छ । 

गत जेठ १७ गते ताक्लाकोटस्थित चिनियाँ अधिकारीहरूसंग दार्चुलाका प्रजिअसहित सुरक्षा अधिकारीहरूले भिडियो कलमार्फत नाका सञ्चालनबारे छलफल गरेका थिए । उक्त छलफलमा असार ११ गतेदेखि नाका सञ्चालन हुने तय भएको थियो । केही प्राविधिक तयारी नपुगेको भन्दै चिनियाँ अधिकारीले असार २६ गतेलाई नयाँ मिति पठाएका थिए । 

असार २६ गते पनि नाका खुलेन । असार ३१ गतेदेखि भने नाका खुला गरिएको जानकारी दिइएको छ । बझाङ जिल्लामा पर्ने उरै नाका पनि केही दिनभित्रै सञ्चालन हुने तयारी छ ।तिब्बतमा पर्ने पवित्र कैलाश–मानसरोवरको यात्रा सञ्चालन गर्न टिंकर नाका वैधानिक रूपमा सञ्चालनको माग स्थानीयले गरेका छन् । यसका लागि पटकपटक राजनीतिक र प्रशासनिक नेतृत्वलाई अनुरोध गरिएको व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताउनुभयो । 

टिंकर नाका परम्परागत रूपमा खुले पनि व्यास क्षेत्र र टिंकर नाका जोड्ने सडक निर्माणले भने गति लिएको छैन । प्रचण्ड नेतृत्वको सरकारले ल्याएको नयाँ बजेटमा टिंकर सडकलाई ८ करोड ५० लाख रूपैयाँ मात्रै बजेट छुट्याइएको छ । सीमा अतिक्रमणको मुद्दा उठाउने, चुच्चे नक्शा प्रकाशन गर्ने र उत्तरतर्फका नाका खोल्ने ओलीले टिंकर सडक निर्माणलाई महत्वका साथ अगाडि बढाउछन् कि बढाउँदैनन् यो अग्निपरीक्षाको विषय बनेको छ । 

– शंकरसिंह धामी

 

टिप्पणीहरू