श्रीमतीबाट अलग्गिएका पूर्वजर्नेल अदालतको शरणमा
महिलाबाट पुरुष पीडित ! धेरैलाई आश्चर्य लाग्ला । किनकि नेपाली समाजमा पुरुषबाट महिला मात्र पीडित हुन्छन् भन्ने मान्यता छ । नेपाली सेनाका एक पूर्वजर्नेल आफ्नी श्रीमतीबाट पीडित भएको भन्दै अदालतको शरणमा पुगेका छन् । उनले नवलपरासी जिल्ला अदालत र उच्च अदालत, बुटवलमा ‘अंश तथा सम्बन्धविच्छेद’ को मुद्दा लडिरहेका छन् । जिल्ला अदालतले आंशिक फैसला गरेपनि उच्चमा मुद्दा विचाराधीन छ । अस्ति सोमबारका लागि तोकिएको पेशी विपक्षीतर्फको आग्रहमा स्थगित गरिएको छ ।
लफडा के हो ?
पति–पत्नी एक रथका दुई पाङ्ग्रा हुन् । उनीहरु बीचको सम्बन्ध आपसी समझदारी र मेलमिलापबाट चल्छ ।समझदारी भएन भने सम्बन्धलाई अगाडि बढाउन निकै मुश्किल हुन्छ । र, बीचमै टुंग्याउनुपर्ने अवस्था आउँछ । नवलपरासी घर भएका पूर्वजर्नेल समिर शाही र संगीता राणा (शाही) को मागी विवाह भयो । पहिले सम्बन्ध राम्रै चलिरहेको थियो । जुम्ल्याहा सन्तान छन् ।
सेनामा जागिरे उनी अधिकांश समय घर बाहिरै हुन्थे । बृद्ध आमा, श्रीमती र दुई सन्तान मात्र । घरमा के हुन्छ ? उनलाई खासै जानकारी हुँदैनथ्यो । सबै जिम्मा पत्नीका हातमा थियो । केही वर्षअगाडि समिर बिहान मन्दिर गएका थिए । आमा र छोराछोरीको रुँदै फोन आयो । घरमा पुलिस आएको र आफूहरुलाई केरकार गरिरहेको भनेपछि उनी भगवान दर्शन नै नगरिकन फर्किए ।
पछि पो संगीताले नै पुलिस बोलाएको खुल्यो । आफूलाई घरमा सघाउने सिपाहीले धकेलेर लडाएको आरोप लगाएर उनले प्रहरी बोलाएकी रहिछन् । छिमेकीका अनुसार राति सबै सुतेपछि संगीता बरण्डामा गएर ‘गुहारगुहार’, ‘बचाऊबचाऊ’ भन्दै कराउँथिन् । ‘उनीहरु छुट्टाछुट्टै कोठामा सुत्थे । राति सबै सुतेपछि उनी बरण्डामा गएर कराउने रहिछन् । एकदिन छिमेकीले त्यो कुरा भने । जर्साब त आश्चर्यमा परे’, सानेपा झम्सिखेल निवासी एक जना अर्का जर्नेलले बताए ।
बुहारीको मानसिक यातनाका कारण समिरकी आमालाई ‘माइल्ड स्ट्रोक’ भएको छ । चार वर्षअगाडि उपरथी पदबाट अवकाशप्राप्त उनलाई दुई जना सहयोगी दिइएको थियो । खाना पकाउनेदेखि लिएर उनका सबै काम तिनैले गर्दै आएका थिए ।
खाना पकाएपछि संगीताले सहयोगीहरुलाई भान्साबाट निकाल्थिन् । दिनहुँ त्यस्तो हुन थालेपछि सहयोगीहरुलाई शंका लाग्यो । एकदिन उनीहरुले झ्याल बाहिरबाट चियो गरे । उनले खानामा ‘सेतो पदार्थ’ (खरानी) मिलाएको देखेपछि ‘तपाईंले यो के मिलाउनुभएको ?’ भन्दै प्रश्न उठाए ।
माफी माग्नुको साटो उनी चिच्याउन थालिन् । ढोका ‘ढङ्ग्रङढुङ्ग्रुङ’ गरेर दिनभर चुकुल लगाई बसिन् । सँधै झगडा गर्ने भएपछि समिर मात्र नभएर बालबच्चासमेत निस्किए । हाल कपनतिर डेरामा बस्दै आएका छन् । शान्ति सेनाबाट कमाएको पैसाले बनाएको घरमा संगीता बस्छिन् ।
दुःखमाथि दुःख
समिरले २०७७ सालमा नवलपरासी जिल्ला अदालतमा मुद्दा दायर गरे । अदालतले अंश मुद्दामा फैसला सुनाउन मात्रै तीन वर्ष लगायो । तर, सम्बन्धविच्छेद गरिदिएन । त्यसपछि उनी उच्च अदालत, बुटवल पुगे । विपक्षीको आग्रहमा सात पटक पेशी स्थगित गरिसकिएको छ । अदालतले आफ्नो पक्षमा फैसला सुनाउने भएपछि उनले न्यायाधीशकै सरुवा गराइएको समिरको जिकिर छ । उनका अनुसार छोराछोरीले शाह थरका न्यायाधीशलाई भेटेर आफूहरु ममीसँग नबस्ने बताएका थिए । त्यसपछि न्यायाधीशले ‘मुद्दा छिटो टुंग्याइदिन्छु’ भनेलगत्तै उनको सरुवा भयो । संगीताको पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग साइनो सम्बन्ध जो थियो ।
समिरले सम्बन्धविच्छेदसँगै जिल्ला अदालतको आदेश बदर गर्न उच्चमा माग गरेका छन् । काठमाडौंको धापासीस्थित कित्ता नम्बर २६४, २२६, २६५, २६६ को जग्गालाई भागबण्डा गरी एक भाग आमा र बाँकी एक भागको चार भाग लगाउनुपर्ने उनको माग छ । जिल्ला अदालतले भने सो जग्गा बण्डा गर्न नपाउने आदेश गरेको थियो ।
सो जग्गा श्रीमानले शान्ति सेनाबाट प्राप्त रकमले किनेको भए पनि उनले बकसपत्रबापत पाएको दाबी गर्दै आएकी छन् । जबकि समिरसँग जग्गा खरिद गरेको प्रमाण नै छ । उनले २०५८ साउन ३ गते द्वारिकाप्रसाद रिजाल, विष्णुप्रसाद रिजाल र देवाकुमारी श्रेष्ठसँग तीन लाख २० हजार रुपैयाँमा जग्गा खरिद गरेको देखिन्छ । रोचक कुरा त कुनै नाता नै नभएको व्यक्तिले संगीतालाई किन जग्गा बकसपत्रमा दिए भन्ने हो । समिर भन्छन्, ‘उनले जग्गा बकसपत्रमार्फत प्राप्त गरेको बताएकी छन् । बकसपत्रमा पाएको भए दाता र प्राप्तकर्ताको नाता खुलाउनुपथ्र्यो । बकसपत्रमा दिनुपर्ने कारण हुनुपर्छ । यत्तिकै बकसपत्रमा पाएको भन्न मिल्दैन । जबकि मसँग जग्गा खरिद गरेको प्रमाण नै छ ।’
आमा हेर्न चाहँदैनन् छोराछोरी
आमा छोराछोरीको मनको सबैभन्दा नजिक हुन्छिन् । बुवालाई भन्दा आमालाई सन्तानले धेरै माया गर्छन् । तर, समिरका छोराछारीको हकमा कुरा भिन्दै छ । उनीहरु भारतीय सेनाको तीनतारे जर्नेल परमजितसिंह सांगाकी साली आफ्नी आमाको नाम सुन्नेबित्तिकै झिंझो मान्छन् । मुद्दा लड्ने पैसाले हाम्रो ११ कक्षाको पढाइ खर्च चल्छ भन्दा पनि मान्दिनन् ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू