अदालतलाई दबाब दिन गाँजावादीद्धारा प्रदर्शनको घोषणा
सर्वोच्च अदालतमा विचाराधीन गाँजासम्बन्धी मुध्दा तत्काल टुंगोमा पुर्याउन दबाब दिने उद्धेश्यले एक समूह आन्दोलनमा उत्रिने भएको छ । नेपाल गाँजा वैधानिक महाअभियान र नेपाल फार्म व्यवसायी संघले भोलिदेखि संयुक्त रुपमा प्रदर्शन गर्न लागेको हो ।
साउन २१ गतेसम्म निरन्तर प्रदर्शन गर्ने महाअभियानका राष्ट्रिय संयोजक अनुबन्ध प्रधानले बताए । उनका अनुसार साउन २१ गते तोकिएको पेशीलाई अग्राधिकारमा राख्न दबाब दिनका लागि प्रदर्शनको आयोजना गरिएको हो ।
‘हामीले सर्वोच्चमा मुध्दा दायर गरेको दुई वर्ष बितिसक्यो । चार पटक पेशी चढ्यो तर सुनुवाई भएन् । साउन २१ गतेका लागि पेशी तोकिएको छ । पेशीलाई अग्राधिकारमा राख्न दबाब दिनका लागि आन्दोलन गर्न थालेका हौं’, प्रधानले भने ।
काठमाडौंको भद्रकाली र सिंहदरबार बीचमा दिँउसो साढे १२ बजेदेखि साँझ साढे ६ बजेसम्म प्रदर्शन गरिने महाअभियानले जनाएको छ । सो क्रममा गाँजाबाट उत्पादित औषधीजन्य सामग्री पनि प्रदर्शनीमा राखिनेछ ।
आन्दोलनका लागि मुलुकभरबाट हजारौं अभियन्ता काठमाडौं आउने बताइएको छ।
टिप्पणीहरू