पीडित परिवारको चित्त बुझाउने दुर्घटनाग्रस्त जहाज कम्पनीको वाचा

पीडित परिवारको चित्त बुझाउने दुर्घटनाग्रस्त जहाज कम्पनीको वाचा
सुन्नुहोस्

सौर्य एयरलाइन्सले विमान दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अध्यक्ष दीपककुमार पोखरेलले आज विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई कम्पनीको तर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाएका हुन् । 

‘यस दुःखद घडीमा शोकमा रहनुभएका सम्पूर्ण परिवार र आफन्तजनहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी भगवानसँग प्रार्थना गर्दछौं,’विज्ञप्तिमा भनिएको छ,‘साथै,पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग,साथ र सद्भाव सधैं रहने विश्वास दिलाउँछौं ।’

एयरलाइन्सको स्थापनाकालदेखि नै एउटै परिवारको रुपमा रही काम गर्दै आएका मित्र एवं सहयोगीहरु दुर्घटनामा परी दिवंगत भएकोमा अत्यन्त मर्माहत र भावविह्वल बनाएको पनि पोखरेलले बताएका छन् । उनले भनेका छन्, ‘यस दुर्घटनामा परी ज्यान गुमाउनुहुने प्रतिष्ठित यति धेरै विज्ञहरुको क्षतिको कल्पना नै गर्न सकिन्न । यस कम्पनीले मात्रै होइन, परिवार,समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनु परेको छ ।’

एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनीयता आर्जनका लागि उनी (मृतक) हरुले पुर्याएको योगदानको उच्च कदर गर्दै सधैं जीवन्त एवं चीर स्मरणीय इतिहासको रुपमा संरक्षण गर्नेसमेत सौर्यले जनाएको छ । जहाज दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने अडान लिइरहँदा कम्पनीका तर्फबाट यस्तो प्रतिवद्धता आएको हो ।  

बुधबार काठमाडौंबाट पोखराका लागि उडेको सौर्यको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो । चालक दलका दुई सदस्यहित १९ जना सवार जहाज दुर्घटनामा क्याप्टेन मनिषरत्न शाक्य भने बाँच्न सफल भए । उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भैरहेको छ ।

टिप्पणीहरू