उपत्यकाका सबै पालिकामा पर्सि सार्वजनिक बिदा

उपत्यकाका सबै पालिकामा पर्सि सार्वजनिक बिदा
सुन्नुहोस्

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनको शोकमा साउन १३ गते काठमाडौं उपत्यकाका सबै पालिकामा सार्वजनिक बिदा दिइएको छ । 

काठमाडौं उपत्यका मेयर्स फोरमले आइतबार उपत्यकाभित्रका सबै पालिका तथा मातहतका कार्यालयमा बिदा दिने निर्णय गरेको हो । ललितपुर महानगरपालिकाका मेयरसमेत रहेका फोरमका अध्यक्ष चिरीबाबु महर्जनले आज शोक विज्ञप्ति जारी गर्दै उनको निधनले उपत्यकाका सबै पालिका मर्माहित भएको बताएका छन् । 

‘उहाँको निधनबाट सिंगो उपत्यकाका सबै पालिकाहरु मर्माहित भएका छन् । शोकको यस घडीमा मिति २०८१ साउन १३ गते आइतबारका दिन काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण पालिका तथा पालिका मातहतका निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ’,विज्ञप्तिमा उल्लेख छ ।  

नकर्मीको गएराति वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । लामो समयदेखि मिर्गौला रोगबाट पीडित उनलाई हिजो बिहान साढे ५ बजे अस्पताल भर्ना गरिएको थियो । गत स्थानीय निर्वाचनमा नकर्मी नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् । 

पछिल्लो समय स्वास्थ्य समस्या बढेपछि उनले साउन १ गतेदेखि उपमेयर शुभलक्ष्मी शाक्य (सुनिता) लाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका थिए ।
 

टिप्पणीहरू