प्रहरीको लेखापाल सरुवामा पनि छाडेन गृहले,विशेष ब्युरोका डिआइजी फिर्ता

प्रहरीको लेखापाल सरुवामा पनि छाडेन गृहले,विशेष ब्युरोका डिआइजी फिर्ता
सुन्नुहोस्

नेपाल प्रहरीले हिजो गरेको झण्डै तीन सय लेखापाल (एकाउण्टेण्ट) को काज सरुवा विवादमा परेको छ । प्रहरी प्रधान कार्यालय,नक्सालले गरेको भनिएको २८९ जना लेखापालको सरुवामा गृह मन्त्रालय हावी भएको आरोप लागेको छ ।

प्रहरी हेडक्वार्टरको मानवस्रोत विकास विभाग,कर्मचारी प्रशासन शाखाले उनीहरुको सरुवा भएको परिपत्र जारी गरेको हो । काज सरुवा अर्थात् अर्को आदेश नभएसम्म लेखाप्रमुखको रुपमा कामकाजमा खटाइएको परिपत्रमा उल्लेख  छ । 

सामान्यतयाः असई,सई,वरिष्ठ सई,केही इन्सपेक्टर कार्यरत हुने लेखामा उच्च तहका कर्मचारीको मात्रै सरुवा गर्ने मन्त्रालयले आँखा लगाएपछि चर्को आलोचना भएको बताइन्छ । जबकि एसपीसम्मको सरुवा आइजीपी स्वयमले गर्नुपर्ने कानुनी व्यवस्था छ । ‘लोकतन्त्र र सुशासनमा प्रतिबद्ध र कानुनविज्ञ मन्त्रीले नेतृत्व गरेको बेलामा समेत गृहले लेखापालको सरुवामा हात हाल्न त नपर्ने हो !’ गृहकै एकजना कनिष्ठ अधिकृतले भने ।

हिजो राति अबेर निस्किएको एकाउन्टेण्टहरुको सरुवामा काज उल्लेख गरिनुलाई पनि उनले आपत्ति जनाएका छन् । काज सरुवा सामान्यतयाः एकाध कर्मचारीलाई विशेष प्रयोजनमा खटाइने प्रशासनिक भाषा हो । तर,झण्डै तीन सयको सरुवालाई काज भन्न नमिल्ने ती अधिकृतको दाबी छ । ‘एकाउन्टेन्टजति सबैलाई यताबाट उता लगिएको छ । त्यो पनि काज हुन्छ ?,’ उनले भने ।
 
नयाँ मन्त्री र उनको समूहले यसबाट राजनीतिक वैतरणी तर्न खोजेको आरोप पनि लागेको छ । तत्कालीन प्रहरी महानिरीक्षक शैलेश थापाको पालामा दुई वर्षसम्म लेखापाल सरुवा भएको थिए । तर,आईजीपीको जिम्मेवारीको काम पनि सिंहदरबारबाटै हुन थालेपछि नक्सालबाट कम्प्युटर प्रिन्ट मात्रै हुने भएकाले प्रहरी संगठनका प्रमुखलाई जिम्मेवार बनाउन राजनीतिक नेतृत्व नै चुक्ने गरेको पछिल्लो घटनाले पनि पुष्टि गरेको बताइन्छ । 

हेडक्वार्टरको लेखामा डिएसपी वीरेन्द्र गोदार छन् । उनका कमाण्डर डिआइजी केदार ढकाल हुन् । ढकाल सहकारी अध्यक्ष ओमदेवी मल्लका श्रीमान् हुन् । नेपाली काँग्रेसप्रति नरम देखिएका ढकाललाई प्रयोग गरेर गृह मन्त्रालयले तीन सय एकाउण्टेण्टको सरुवा गरेको एकथरीको आरोप छ । स्रोत भन्छ, ‘मन्त्रीका ४० जना राख्दा आफ्नो २० जना राखेर कसले दुनो सोझ्याएन होला र ?’

यसअघि प्रधान कार्यालयले हरेक असार मसान्तभित्र लेखापालहरुको सरुवा गर्थ्यो । जसमा एउटा कार्यालयमा दुई वर्ष लेखापाल भएकाहरुको असार मसान्तमा सरुवा गर्ने चलन छ । 

आर्थिक वर्षको प्रारम्भमा सबै कार्यालय तथा युनिटमा नयाँ आर्थिक वर्षको बजेट पठाइने भएकाले धेरै बजेट हुने कार्यलयमा जान र पठाउन लेखापाल तथा ठूलाबडाहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको विगत देखिएको थियो ।

प्रहरी स्रोतका अनुसार नेपाली काँग्रेस र एमालेबीच गत असार १७ गते नयाँ सरकार गठनको सहमति र लगत्तै बनेको नयाँ सरकारका कारण लेखापाल सरुवाको गृहकार्य रोकेको थियो ।

असार ३१ गते रमेश लेखक गृहमन्त्री बनेपछि हिजो राति उनीहरुको सरुवा भएको हो ।यसवीच गृहले विशेष ब्युरो प्रमुख डा.मनोज केसीलाई तानेर एकेडेमी पुर्याई राजन अधिकारीसङ्ग जिम्मेवारी साटफेर गराएको छ ।

टिप्पणीहरू