मारे पनि त्रिविको सम्पत्ति नजोगाई नछाड्ने दावी
त्रिभुवन विश्वविद्यालयको अचल सम्पत्ति विशेषगरी जग्गामाथि भएको ब्रम्हलुट देख्न नसक्दा एक जना उपप्राध्यापकले उच्चस्तरीय समितिमा उजुरी दर्ता गराएका छन् । पाटन संयुक्त क्याम्पसका मनोजकुमार कर्णले पहिले इमेलबाट र अहिले त्रिविको जग्गा तथा सम्पत्ति खोजबिन समितिमै पुगेर लिखित जानकारी गराएका हुन् ।
उनले त्रिविका अन्य प्राध्यापक तथा कर्मचारीहरुलाई पनि आफूसँग भएको जानकारी शिक्षा मन्त्रालयमा रहेको उक्त समितिसमक्ष लिखित रुपमा दिन आग्रह गरेका छन् । आफूले इमेलबाट एक महिनाअघि नै जानकारी गराए पनि आज दिउँसो मन्त्रालयमा पुगेर त्रिविको जग्गा र सम्पत्तिसम्बन्धी जानकारी दिएको कर्णले बताए ।
समितिका कर्मचारीले कर्णलाई उनले यसअघि इमेलबाट पठाएको विवरणको आधारमा काम थालिएको जानकारी दिएका छन् । आजको भेटमा कर्णले आफूले थाहा पाएका सबै कुरा सविस्तार सुनाएका थिए ।
उनले सम्पत्ति खोजीमा लागेका मन्त्रालयका कर्मचारीलाई ठूला सञ्चार माध्यममा पढिएका,सुनिएका र देखिएका समाचारलाई मात्रै आधार नबनाउन अनुरोध गरेको पनि बताएका छन् । उदाहरण दिँदै उनले भने,‘वर्तमान प्रधानमन्त्री तथा कुलपति सम्माननीय केपी ओलीज्यूको अध्यक्षतामा बसेको बैठकले २०७५ सालमा लिएको जमलस्थित तत्कालीन जनप्रशासन क्याम्पस हातामा रहेको टुटाको जमिन पनि शंकरदेव क्याम्पसलाई फिर्ता अहिलेसम्म गरिएको छैन । सानोठिमीमा राष्ट्रिय पुस्तकालय बनिसकेपछि सम्बन्धित निकायलाई फिर्ता नगरेबाटै सबै कुरा छर्लङ्ग हुन्छ ।’
‘पाटन क्याम्पसको साइन्सतिरको गुठीको जमिन र बसपार्कको जमिनबारे सम्बन्धित पक्षले स्पष्ट पार्नुपर्ने,’उल्लेख गर्दै कर्ण भन्छन्,‘म त्यहीं पढेको विद्यार्थी हुँ । हाल त्यहाँको शिक्षक पनि छु । संस्थाको सम्पत्ति जोगाउन हिँडेपछि विभिन्न बहानामा वर्तमान क्याम्पस चिफज्यूले आफ्नो चार वर्षे कार्यकालमा तीन चोटी स्पष्टिकरण सोधिसक्नुभएको छ ।’
उनले नेपाल सरकारले नै त्रिविको जग्गा हडपेको,अन्य निकायलाई उपलब्ध गराएकोमा आक्रोश पोखेका छन् । सरकारले नयाँ विश्वविद्यालय खोल्ने क्रममा त्रिविको सम्पत्ति खोस्ने गरेको कर्णको दाबी छ । चितवनको रामपुर कृषि क्याम्पसलगायतको जग्गामा अन्य विश्वविद्यालय स्थापना गरिएको उनले बताए ।
पाटन क्याम्पसका पूर्व क्याम्पसप्रमुख प्रा. खगेन्द्र भट्टराईले त्यहाँको जग्गा संरक्षण गरे पनि अहिले पुनः जमिन अरुको कब्जामा रहेको कर्णको दाबी छ । पूर्व उपकुलपति प्रा. तीर्थराज खनियाँले रामपुर क्याम्पस जोगाउन निकै प्रयास गरे पनि सरकारको अघिल्तिर केही नलागेको सन्दर्भ पनि अहिले स्मरणयुक्त भएको उनले उल्लेख गरेका छन् ।
‘पाटन क्याम्पसको साइन्सतिरको गुठीको जमिन र बसपार्कको जमिनबारे सम्बन्धित पक्षले स्पष्ट पार्नुपर्ने,’उल्लेख गर्दै कर्ण भन्छन्,‘म त्यहीं पढेको विद्यार्थी हुँ । हाल त्यहाँको शिक्षक पनि छु । संस्थाको सम्पत्ति जोगाउन हिँडेपछि विभिन्न बहानामा वर्तमान क्याम्पस चिफज्यूले आफ्नो चार वर्षे कार्यकालमा तीन चोटी स्पष्टिकरण सोधिसक्नुभएको छ ।’
उनले विद्यार्थीहरु उचालेर एकाध पटक आफूमाथि भौतिक आक्रमणको प्रयास भएको बताए । तर,आफूलाई मारे पनि मातृ संस्थालाई जोगाउन कुनै कसर बाँकी नराख्ने प्रणका साथ मैदानमा उत्रिएको जानकारीसमेत दिए ।
टिप्पणीहरू