पूर्वमन्त्री २० वर्षपछि भ्रष्टाचारी ठहर, पूर्वमुख्यसचिवसँग धरौटी माग
सर्वोच्च अदालतले पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले उनको पुनरावेदनमा दाबी नपुग्ने फैसला सुनाएपछि उनी भ्रष्टाचारी ठहरिएका हुन् ।
सर्वोच्चले अकुत सम्पत्तिसम्बन्धी मुद्दामा गत असार २० गते दुवै पक्षको सुनुवाई सकेपछि आज निर्णय सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा भएको आदेशमा चित्त नबुझेपछि जोशीले उक्त मुद्दामाथि २०६० सालमा पुनरावेदन गरेका थिए । आज जोशीलाई ६९ लाख १५ हजार जरिवाना र नौ महिना कैदको फैसला सुनाइएको छ ।
यस्तै विशेष अदालतले पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याललाई ५० हजार धरौटी मागेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले धरौटी माग्ने आदेश गरेको हो । अर्यालले माग बमोजिमको धरौटी रकम बुझाएका छन् ।
अर्यालले अन्तःशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा आज विशेष अदालत पुगेर बयान दिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीलगायत ११ जनाविरुद्ध असार ९ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
टिप्पणीहरू