काठमाडौंमा चौबिसै घण्टा हटलाइन सेवा

काठमाडौंमा चौबिसै घण्टा हटलाइन सेवा
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले चौबिस घण्टे हटलाइन सेवाको थालनी गरेको छ । महानगरले विपद्जन्य जोखिम तथा डेंगु, हैजासहित पानीजन्य रोगको महामारी व्यवस्थापनका लागि उक्त सेवा शुरु गरेको जनाएको छ । महानगरको विपद् व्यवस्थापन र स्वास्थ्य विभाग तथा महानगर प्रहरी बलबाट सेवा प्रदान हुने व्यवस्था मिलाइएको छ । 

डुबान, बाढी तथा वर्षाका कारण सिर्जित समस्या समाधानका लागि विपद् विभाग र महानगर प्रहरी बलले काम गर्ने जनाइएको छ । स्वास्थ्य विभागबाट डेंगु, हैजासहितका महामारीका रुपमा फैलिने रोगको उपचारका लागि परामर्श, सेवा सिफारिस र उपचार समन्वय प्रदान हुनेछ । 

यसका लागि पहिलो सम्पर्क स्थापित गर्न हटलाइन टेलिफोन २४ घण्टा खुला गरिएको महानगरको भनाइ छ । यसअघि कार्यालय समयमा मात्र हटलाइन खुला हुने गरेको थियो । महानगरले केही समययता नियमित पानी परिरहेकोले महानगर प्रहरी बलले डुबान, बाढी, पहिरो व्यवस्थापनका लागि आवश्यक काम गरिरहेको पनि जानकारी दिएको छ । 

साथै, महानगरभित्र कुनै ठाउँमा बाढीपहिरो गएमा वा डुबानमा परेमा ९७५१३५६५०९ मार्फत् सोझै महानगर प्रहरी बलसँग सम्पर्क गर्न भनिएको छ । डेंगु, हैजाजस्ता रोगको लक्षण देखा परेमा महानगरको निःशुल्क हटलाइन नम्बर ११८० र १६६००१०५५११ मा सम्पर्क गर्न सकिनेछ । साँझ ६ बजेपछि भने ११८० मा डायल गरेर ९ थिच्नुपर्नेछ । यो फोन स्वास्थ्यकर्मीले उठाउने व्यवस्था मिलाइएको महानगरले जनाएको छ ।
 

टिप्पणीहरू