सर्वोच्चभित्रै लोकसेवा तयारीको कोचिङ, कर्मचारीद्वारा विरोध

सर्वोच्चभित्रै लोकसेवा तयारीको कोचिङ, कर्मचारीद्वारा विरोध
सुन्नुहोस्

न्यायालयको सर्वोच्च थलोमा मोटो रकम असुलेर कोचिङ कक्षा शुरु गरिएपछि चर्को विरोध भएको छ । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, सर्वोच्च अदालत विभागीय कार्यसमितिले आजदेखि सञ्चालन गरेको लोकसेवाको तयारी कक्षालाई लिएर विवाद निम्तिएको छ । 

सर्वोच्चको एनेक्स भवनको सभाहलमा बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म न्याय सेवाको लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको हो । सर्वोच्च प्रशासनले लाखौं रुपैयाँ खर्चिएर हालै मर्मत गरेको भवन कुनै संगठनको पैसा कमाउने ठाउँ बनेको जनाउँदै विरोध गरिएको छ ।

संगठनले ५० जनाको सिट संख्या नै निर्धारण गरेर कक्षामा सहभागी हुन साढे १३ हजार रुपैयाँ शुल्क तोकेको छ । शुल्क धेरै भएको अधिकांशको भनाइ छ । तयारी कक्षाको नाममा संगठनले ‘ठगी’ गरेको आरोप लगाइएको छ । संगठनले केही दिनअघि मात्रै लोकसेवा तयारी कक्षामा सहभागी हुन चाहनेलाई भर्ना हुन सूचित गरेको थियो ।

सूचनामा लोकसेवा आयोगबाट लिइने नेपाल न्याय सेवा (न्याय, कानून र सरकारी वकिल समूह) उपसचिव पदको प्रथम र द्वितीय दुवै पत्रको तयारी कक्षा सञ्चालन हुने र सहभागिताका लागि भर्ना शुल्कवापत साढे १३ हजार रुपैयाँ तिर्नुपर्ने उल्लेख छ । 

कोचिङको नाममा न्यायालयजस्तो गरिमामय ठाउँमा ठगीधन्दा शुरु गरेको भन्दै अहिले व्यापक आलोचना भएको छ । सर्वोच्च अदालतकै कर्मचारीहरुले समेत उक्त कार्यप्रति विरोध जनाएका छन् । अधिवक्ता हरि भट्टराईले व्यापारिक प्रयोजनका लागि अदालतभित्रै यस्ता कार्य लज्जास्पद रहेको भन्दै तत्काल रोक्न माग गरेका छन् । 

‘न्यायालयभित्र यस्ता गैरकानूनी र अवैधानिक गतिविधि अविलम्ब रोक्न न्यायिक नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउँदछौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्वोच्च अदालत प्रशासन सेवाग्राहीमुखी भई सुशासन र थितिका लागि चल्नुपर्नेमा अमुक कर्मचारी संगठनसँग मिलेर व्यापारिक प्रयोजनका लागि सर्वोच्च अदालतभित्र लोकसेवाको तयारी कक्षा सञ्चालन गर्नु लज्जास्पद कुरा हो ।’ 

त्यस्तै, अर्का एक जनाले भनेका छन्, ‘सर्वोच्चमा लोकसेवाको तयारी कक्षा सञ्चालन गर्नु लाजमर्दो छ ।’ एमालेनिकट कर्मचारीहरुले तयारी कक्षाको नाममा लुट मच्चाएको अदालतका कर्मचारीहरुको आरोप छ । सर्वोच्चकी एक कर्मचारीले भनिन्, ‘अदालतभित्रै कक्षा सञ्चालन गर्ने अनि साढे १३ हजार रुपैयाँ शुल्क तोक्ने !  यो सोझै लुट भएन र ?’ 

न्यूनतम शुल्कमा कक्षा शुरु गरिएको संगठनको दाबी 

चर्को शुल्क लिएर अदालतभित्रै लोकसेवाको तयारी कक्षा सञ्चालन गरेको भन्दै व्यापक आलोचना भइरहँदा संगठनका अध्यक्ष अर्जुनबाबु सापकोटाले सस्तो शुल्कमा कक्षा शुरु गरेको दाबी गरेका छन् । 

ख्यातिप्राप्त विषयविज्ञ प्रशिक्षकहरुबाट कक्षा सञ्चालन हुने बताउँदै उनले भने, ‘हामीले निकै कम शुल्कमा कक्षा सञ्चालन गरेका हौं ।’ उनका अनुसार साढे दुई महिना कक्षा सञ्चालन हुने छ । संगठन र अदालतभित्रका कर्मचारीका लागि न्यूनतम शुल्कमा कक्षा सञ्चालन गरिएको उनको भनाइ छ । 

‘हाम्रो संगठनभित्र आबद्ध कर्मचारी र अदालतमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धिका लागि निकै कम शुल्कमा कक्षा सञ्चालन गरेका हौं,’ सापकोटाले भने । विगतमा पनि अदालतभित्रै यस्ता कक्षा सञ्चालन गर्दै आएको बताएका उनले प्रशासनबाट अनुमति समेत लिएको दाबी गरेका छन् । 

रकमबारे सर्वोच्च बेखबर 

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरे संगठनले कक्षा सञ्चालनका लागि अनुमति लिएपनि रकमबारे केही थाहा नपाएको बताउँछन् । 

‘उहाँहरुले अदालतभित्रकै कर्मचारी साथीका लागि कक्षा सञ्चालन गर्ने भनेपछि हामीले अनुमति दिएका थियौं । तर, अहिले चर्को रकम लिएको गुनासो आएको छ । यससम्बन्धमा हामीलाई केही थाहा छैन,’ उनले भने ।

टिप्पणीहरू