बागमतीका पत्रकारलाई विधागत तालिम
बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले पत्रकारितासम्बन्धी तालिम दिने भएको छ ।
एफ.एम रेडियो, टेलिभिजन र अनलाइनमा कार्यरत पत्रकार, मिडिया सञ्चालक–व्यवस्थापक, रेडियो प्राविधिक र महिला पत्रकारलाई लक्षित गरी तालिम सञ्चालन गर्न लागिएको हो । विभिन्न विधामा तालिम दिइने कार्यालयले जनाएको छ ।
प्रदेशभित्र सञ्चालित अनलाइन सञ्चार माध्यममा क्रियाशील पत्रकारलाई अनलाइन पत्रकारिता तालिममा प्राथमिकता दिइने जनाइएको छ । त्यस्तै, तथ्याङ्कमा आधारित पत्रकारिता तालिमका लागि अनलाइन पत्रकारिता तालिम लिएको वा अनलाइन पत्रकारितामा क्रियाशील रहेको हुनुपर्नेछ ।
टेलिभिजन वा अनलाइन सञ्चारमाध्यममा क्रियाशील पत्रकारलाई मोबाइल पत्रकारिता तालिमका लागि प्राथमिकतामा राखिएको छ । टेलिभिजनमा काम गरिरहेका, मोबाइल पत्रकारिता तालिम लिएका वा श्रव्यदृश्यमा काम गर्ने रुचि भएकाहरुले श्रव्यदृश्य कार्यशालाका निम्ति आवेदन दिन सक्नेछन् ।
पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममा समाचार लेखन तथा सम्पादनमा क्रियाशील पत्रकारले समाचार लेखन तथा सम्पादन कार्यशालामा आवेदन दिन सक्ने कार्यालयले जानकारी दिएको छ । सो कार्यशालामा महिला पत्रकारलाई प्राथमिकता दिइने जनाइएको छ ।
रेडियोमा क्रियाशील प्राविधिक तथा पत्रकारलाई रेडियो प्राविधिक तालिम दिइनेछ । मिडिया सञ्चालकलाई विज्ञापन कलासम्बन्धी तालिम प्रदान गरिनेछ । तालिममा सहभागी हुन इच्छुकले एक महिनाभित्र कार्यालयको वेभसाइटमार्फत निवेदन पठाउनुपर्नेछ ।
टिप्पणीहरू