हचुवामा समाचार नलेख्न काठमाडौँ प्रहरीको आग्रह

हचुवामा समाचार नलेख्न काठमाडौँ प्रहरीको आग्रह

जिल्ला प्रहरी परिसर, काठमाडौंले तथ्यपरक सूचनाहरु मात्र प्रकाशन/प्रसारण गर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेको छ । 

केही प्रहरी कर्मचारीको हवाला दिँदै हचुवामा समाचार सम्प्रेषण भैरहेको जनाउँदै प्रहरीले त्यसो नगर्न अनुरोध गरेको हो । सत्यताको परीक्षण नगरिकन समाचार प्रकाशित हुँदा अनुसन्धान प्रभावित हुनेतर्फ परिसरले सचेत पनि गराएको छ । 

आज विज्ञप्ति जारी गर्दै परिसरले सम्बन्धित कार्यालयका प्रमुख वा सूचना अधिकारीमार्फत आधिकारिक सूचना संकलन गरेर मात्रै समाचार प्रकाशित गर्न भनेको छ । 

‘केही अनलाइन मिडियाहरुमार्फत यस परिसरबाट भए गरेका अनुसन्धान तथा कारबाहीका सम्बन्धमा केही प्रहरी कर्मचारीहरुको हवाला दिँदै सत्यता नै परीक्षण नगरी तथ्यलाई नै फरक पारी अनुसन्धान समेतलाई प्रभाव पार्ने गरी जिल्ला प्रहरी परिसरबाट भए गरेको निष्पक्ष एवं पारदर्शी अनुसन्धानका तथ्यहरुलाई फरक तरिकाले आम जनमानसमा गलत सूचना प्रसारण एवं सम्प्रेषण गरिएका विषयमा यस परिसरको गम्भीर ध्यानाकर्षण भएको छ’,विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू