चीन-नेपाल सुमधुर सम्बन्धबारे सामूहिक स्वर

चीन-नेपाल सुमधुर सम्बन्धबारे सामूहिक स्वर
सुन्नुहोस्

नेपालका लागि चिनियाँ राजदूत छन सोङले चीनको आर्थिक विकास नेपालको समृद्धिमा सहयोगी हुनसक्ने धारणा राख्नुभएको छ । उहाँले घनिष्ठ छिमेकी मुलुक नेपालको आर्थिक तथा सामाजिक विकास नै चीनको उत्कट चाहना रहेको उल्लेख गर्नुभयो । 

राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले बिआरआईअन्तर्गतका परियोजना नेपालको हितमा रहेको बताउनुभयो । भन्नुभयो, ‘चिनियाँ कम्युनिष्ट पार्टीको हालै सम्पन्न २० औं केन्द्रीय समितिको तेस्रो राष्ट्रिय बैठकले पारित गरेका कतिपय सुधारका योजनाबाट नेपाल र नेपाली लाभान्वित हुन सक्छन् ।’

दुबै मुलुकले उच्च हिमाली क्षेत्रको कठोर अवरोधलाई पन्छाएर विभिन्न माध्यमका कनेक्टिभिटीमा निरन्तर जोडिन उपयुक्त सञ्जाल अवलम्बन गर्नुपर्नेमा उहाँको जोड छ । त्यसैगरी कृषि,उद्योग,व्यापार, ‘डिजिटल टेक्नोलोजी’,ऊर्जा,पर्यटन क्षेत्रको क्षमता विस्तारबाट नेपाललाई समृद्धिको अवसर प्राप्त हुनेमा राजदूत विश्वस्त देखिनुभएको छ ।

आफ्नो सम्बोधनमा उहाँले चीनले निरन्तर सुधार र खुलापनको सन्देश प्रवाह गरेको उल्लेख गर्नुभयो । चिनियाँ कम्युनिष्ट पार्टी सुधार र खुलापनलाई दृढतापूर्वक अघि बढाउँदै नयाँ युगको नयाँ यात्रामा लम्किरहेको जानकारी पनि दिनुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै चाइना मिडिया ग्रुप (सिएमजी) का एसिया–प्रशान्त निर्देशक छाओ यीले चीन नेपाल विकासको उपयुक्त पथको खोजीमा सक्रिय रहेको उल्लेख गर्नुभयो । स्वतन्त्रता,आन्तरिक सुदृढीकरण र समृद्धि हासिल गर्न नेपाल प्रयासरत रहेको दावी गर्दै भन्नुभयो,‘हिमालयको दुईतर्फ रहेका चीन र नेपालबीच सर्वोच्च शिखर सगरमाथा छ । दुई देशका जनताबीचको सम्बन्ध पनि त्यस्तै उच्च छ ।’

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले दुई मुलुकबीचको सौहार्द्रपूर्ण सम्बन्धमा प्रकाश पार्नुभयो । उहाँले समानता, आपसी हित र दिगो मैत्रीप्रति दृढ विश्वास भएका नेपाल र चीनबीचको सम्बन्ध समस्यामुक्त रहेको बताउनुभयो । नेपालको विकासमा चीनको उदारतापूर्ण सहयोग रहेको र नेपालले चीनको चासोलाई सँधै ध्यानमा राखेको उहाँको भनाइ थियो ।

बिआरआई परियोजना कार्यान्वयनबारे तत्काल निर्णय हुनेमा उहाँ विश्वस्त देखिनुहुन्थ्यो । दुई मुलुकबीच बढ्दै गएको जनस्तरको सम्बन्धले पनि मैत्रीपूर्ण सम्बन्ध कसिलो बनेको रिजालको भनाई छ ।

कार्यक्रममा नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले प्रविधि र ज्ञान आदानप्रदानको क्षेत्रलाई थप फराकिलो पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘पारस्परिक सहयोगलाई दिगो बनाउँदै जनस्तरको सम्बन्धलाई सुदृढ पार्ने कार्यमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । हाम्रा सञ्चार संस्थाहरु प्रामाणिक,निष्पक्ष र जवाफदेही पत्रकारितामा समर्पित छन् ।’

साइनो–नेपाल मिडिया सोसाइटीको सहकार्यमा सिएमजीले आयोजना गरेको ‘चीनको निरन्तर सुधारबाट नयाँ युगमा विश्वव्यापी अवसर’ शीर्षक कार्यक्रम दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोगी हुने बताइएको छ ।  जनआस्थासँगको कुराकानीमा सोसाइटीका अध्यक्ष ध्रुव पौडेल भन्नहुन्छ, ‘जनस्तरमा यस्ता कार्यक्रमले पार्ने सकारात्मक प्रभाव निकै खँदिलो हुन्छ । राज्यस्तरको आफ्नो संयन्त्र छुट्टै छ ।’

टिप्पणीहरू