कथावाचिका भारत फर्केपछि पिता भन्छन्...

कथावाचिका भारत फर्केपछि पिता भन्छन्...
सुन्नुहोस्

पशुपतिमा जारी एक महिने कोटीहोममा १४ दिन कथा वाचन गरेर प्रतिभा पराजुली (देवी प्रतिभा) भारतको वृन्दावन फर्केपछि कथावाचिकाका पिता साधुराम पराजुलीले छोरीबारे केही जानकारी दिएका छन् । ‘तपाईंकी छोरीको सर्वत्र चर्चा छ, आखिर उनी विवाहित हुन् कि अविवाहित ?’ भन्ने जनआस्थाको जिज्ञासामा साधुरामले जवाफ दिए, ‘हुन त यो उनको नीजि कुरा हो, सबै कुरा बाहिर ल्याउँदा राम्रो सन्देश जाँदैन ।’ 

उनले घुमाउरो भाषामा अरु कहीसँग मिलेर प्रतिभाले वृन्दावनमै राष्ट्र सेवा परिवार चलाउँदै आएको जानकारी दिए । प्रतिभा काठमाडौं पनि सोही संस्थाबाट आएकी हुन् । उनलाई मानव सेवा फाउन्डेशनले आयोजना गरेको कोटीहोममा ल्याउन आवश्यक सम्पर्क र समन्वय आफूले नै गरेको बताए ।  साधुरामले भने, ‘यहाँ फाउन्डेशनमा बिजयकृष्ण मूर्ती महाराज हुनुहुन्छ, नेपाल ल्याउने भनेपछि मैले वृन्दावनमा सम्पर्क गराइदिएको हुँ, नेपालमा अरु कसैले कथावाचन गराउनु पर्यो भने पनि मैले नै सम्पर्क गराइदिन्छु ।’

साधुरामले प्रतिभाको पारिश्रमिकको विषयमा भने केही खुलाएनन् । कथावाचन गर्ने ठाउँको दूरी, उपस्थित भक्तजन, कथावाचन समयको आधारमा प्रतिभाको पारिश्रमिक तय हुने साधुरामले जानकारी दिए । ‘पारिश्रमिकमा चाहीँ म प्रवेश गर्दिन, यहाँ कोटीहोम आयोजकले सिधै उता राष्ट्र सेवा परिवारसँग डिल गरेको हो ।’

प्रतिभासँगै राष्ट्र सेवा परिवारमा रहेका शैलेन्द्र नन्द बाल प्रभुजी महाराज पनि कथावाचक हुन् । उनी केही समय पहिले ‘साधना’ नामक एक धार्मिक टिभीमा कार्यक्रम चलाउँथे । तर पछिल्लो समय शैलेन्द्र राष्ट्र सेवा परिवारबाटै हुने कथावाचनका कार्यक्रममा व्यस्त छन् । सामान्यतया, धार्मिक कार्यक्रमहरुमा प्रतिभाको माग धेरै हुने गरेको छ । तर, आर्थिक कारोबार शैलेन्द्रले नै गर्ने गरेको साधुरामको अभिव्यक्तिबाट प्रष्ट हुन्छ । यसबारे उनले विस्तृत रुपमा केही बताएनन् ।

राष्ट्र सेवा परिवारले यता पठाएको उनको टोलीमा १६ जना अंगरक्षक थिए । प्रतिभासहित नेपाल आएको २२ जनाको टोलीमा तीन सहयोगी, दुई जना ड्राइभर र अरु बडिगार्ड भएको पराजुलीले बताए । भारतका कार्यक्रममा यो संख्या अझ धेरै हुने उनको दाबी छ ।

बुबा साधुरामका अनुसार प्रतिभाले पछिल्लो समय समेस्टर प्रणालीमा चौथो सेमेस्टरको परीक्षा दिएकी हुन् । तर, रिजल्ट आउन बाँकी रहेको उनको बुझाई छ । छोरीको जन्ममितिबारे भन्छन्, ‘२०५५ फागुन लास्टतिर जन्मेकी हो । ठ्याक्कै गते त बिर्सेँ । उसको आमालाई सोध्नुपर्छ । यो हिसाबले २६ पुगेर २७ लागिन् ।’

दुई वर्षअघि साउनमा काभ्रेपलाञ्चोक घर आएकी र पोहोर बर्खामा आफूहरुले उता वृन्दावनमा भेटेको पनि उनले खुलाए । साधुराम भन्छन्, ‘प्रतिभालाई वृन्दावन पठाउदा १३ वर्षकी थिइन् । वृन्दावनमा सेटल गराउन निकै भौंतारिनुपरेको थियो ।’

टिप्पणीहरू