‘प्लस टु’ को रिजल्ट नहुँदै ‘ब्याचलर’ मा भर्ना

‘प्लस टु’ को रिजल्ट नहुँदै ‘ब्याचलर’ मा भर्ना

नेपालीमा एउटा उखान छ,‘नानी पाउनु कहिलेकहिले, भोटो सिउनु अहिले ।’ यो उखान शैक्षिक संस्थाहरुको पछिल्लो क्रियाकलापसँग ठ्याक्कै मिलेको छ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरु यतिबेला नतिजाको पर्खाइमा छन् । 

गत वैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल चार लाख ९१ हजार ६१ जना विद्यार्थी सहभागी भएका थिए । राष्ट्रिय परीक्षा बोर्डले साउनको अन्तिम सातातिर कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । तर, अहिले नतिजाअगावै अधिकांश कलेजले भर्ना खुलाएका छन् । कक्षा १२ उत्तीर्ण भएपछि मात्र स्नातक तहको प्रथम वर्षमा भर्ना हुनुपर्ने विद्यार्थीहरुलाई नतिजा थाहा नहुँदै कलेज धाउने हैरानी बढेको छ । 

रिजल्ट आएपछि मात्र आफू पढ्ने विषयबारे थाहा हुन्छ । तर, उनीहरु नतिजा नै थाहा नहुँदै भर्ना प्रक्रियामा सहभागी हुन बाध्य भएका छन् । सरकारी स्वामित्वकै चिकित्सा शिक्षा आयोगले कक्षा १२ को नतिजा आउनुअगावै चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रममा विद्यार्थी भर्नाका लागि आवेदन खुलाएको छ । आयोगले डेढ महिनाअघि चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षाका निम्ति अनलाइन आवेदन आह्वान गरेको थियो ।

‘शैक्षिक सत्र २०८१/०८२ मा चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा विद्यार्थी छनौट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षामा सहभागी हुन इच्छुक योग्यता पुगेका उम्मेदवारहरुबाट मिति २०८१ जेठ ३० गते बिहान १० बजेदेखि २०८१ असार १८ गते अपरान्ह ५ बजेसम्म अनलाइन आवेदन आह्वान गरिएको छ,’ आयोगद्वारा गत जेठ २८ गते प्रकाशित सूचनामा उल्लेख छ । 

यसअघि चिकित्साशास्त्रको प्रवेश परीक्षामा सहभागी हुन कक्षा १२ उत्तीर्ण हुनैपथ्र्यो । तर, आयोगले यो वर्षदेखि ‘प्लस टु’ को परीक्षा दिएर बसेका विज्ञान संकायका विद्यार्थीलाई पनि कक्षा १२ को प्रवेशपत्रको आधारमा स्नातक तहको प्रवेश परीक्षामा सहभागी गराउन लागेको हो । यसले विद्यार्थीलाई सुविधा हुने आयोगको दाबी छ । यद्यपि, रिजल्ट नै नआई विद्यार्थी भर्ना प्रक्रिया अघि बढाउनु ठीक नभएको जनाउँदै धेरैले विरोध गरेका छन् ।

काठमाडौं उपत्यकाका अधिकांश निजी तथा सामुदायिक कलेजहरुले कक्षा १२ को भर्ना खोलिसकेका छन् । कलेजहरुले धमाधम भर्ना लिइरहेका छन् । ‘प्रि–एडमिसन’ को नाम दिएर बीबीए, बीएचम, बीबीएस, बीएलगायतको संकायमा भर्ना गरिएको छ । नतिजा नै नआईकन कलेजहरुले भर्ना प्रक्रिया अघि बढाउँदा विद्यार्थीहरु अन्योलमा परेका छन् । 

दूरदराजमा रहेका विद्यार्थीहरु नतिजाअगावै भर्ना खोल्दा मर्कामा परेका छन् । नतिजापछि मात्र काठमाडौं आउने सोचमा बसेकाहरुलाई सीट भरिसक्ने होकि भन्ने चिन्ताले पिरोलिरहेको छ । विद्यार्थीलाई परीक्षाको नतिजा राम्रो आउँछ कि नराम्रो ? त्यसको त चिन्ता छ नै सँगै कलेजहरुले हतारमा भर्ना प्रक्रिया अघि बढाउँदा दुविधामा पारेको छ । 

कक्षा १२ को परीक्षा दिएर बसेकी स्नेहा घिमिरेले भनिन्,‘नतिजा नआईकन के आधारमा भर्ना हुने ? नतिजा आइसकेपछि पो के पढ्ने ? कहाँ पढ्ने ? भन्न सकिन्छ । कलेजहरुले अहिले नै भर्ना लिन थालिसकेका छन् । यसले विद्यार्थीहरुलाई समस्यामा पारेको छ ।’

त्रिविले नै खोल्यो नतिजाभन्दा अगाडि भर्ना     

गत वर्ष त्रिविले नतिजा आउनुअघि नै स्नातक तहको भर्ना खोलेपछि त्यसको व्यापक विरोध भएको थियो । नतिजा प्रकाशित नगरी स्नातक तहमा भर्ना खोल्नु विद्यार्थीलाई निजीमा जान प्रेरित गरेको भन्दै धेरैले आपत्ति जनाएका थिए । 

कक्षा ११ मा पनि उस्तै 

कक्षा ११ मा होस् या स्नातकमा हरेक वर्ष निजी कलेजले परीक्षाको नतिजा नआउँदै विद्यार्थी भर्ना खोल्ने गरेका छन् । कक्षा १ देखि १० गतेसम्म सरकारले नै भर्ना अभियान सञ्चालन गर्ने गरेको छ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) र कक्षा १२ को परीक्षा पनि सरकारकै निकाय राष्ट्रिय परीक्षा बोर्डले लिँदै आएको छ ।

बोर्ड आफैंले नतिजा सार्वजनिक गर्ने गर्छ । परीक्षा लिएको तीन महिनाभित्र बोर्डले नतिजा प्रकाशन गर्ने गरेको छ । तर, वर्षेनी मुलुककै प्रतिष्ठित शिक्षण संस्था मानिएका र नाम चलेका निजी कलेजहरुले एसईईको नतिजा आउनुअगावै कक्षा ११ मा विद्यार्थी भर्नाका लागि प्रक्रिया अघि बढाउने गरेका छन् । 

कतिपय कलेजले परीक्षासमेत नसकिएको अवस्थामा प्रि–रजिस्ट्रेसन र छात्रवृत्तिका लागि भन्दै अनलाइन परीक्षा सञ्चालन गरेको पाइन्छ । शिक्षण संस्थाहरुले आफुखुशी भर्ना प्रक्रिया अघि बढाउँदा विद्यार्थीहरु द्विविधामा पर्ने गरेका छन् । यद्यपि, सम्बन्धित निकायको फितलो अनुगमनका कारण हरेक वर्ष कलेजहरुले विद्यार्थी–अभिभावकलाई अन्योलमा पार्ने र जथाभावी शुल्क असुल्ने प्रवृत्ति दोहोरिँदै आएको छ । 

नतिजाअघि भर्ना प्रक्रिया अघि बढाउन मिल्दैन : शिक्षा मन्त्रालय 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहाल परीक्षाको नतिजा नआई शिक्षण संस्थाले विद्यार्थी भर्ना प्रक्रिया अघि बढाउन नमिल्ने बताउँछन् । 

‘माथिल्लो कक्षा चढ्न अघिल्लो कक्षामा अनिवार्य रुपमा उत्तीर्ण भएकै हुनुपर्छ । नतिजा नआएसम्म पास भयो कि फेल भनेर थाहा हुन्न । त्यसैले, परीक्षाको नतिजा नआई शिक्षण संस्थाले भर्नासम्बन्धी प्रक्रिया अघि बढाउन मिल्दैन,’ उनले भने । 

पछिल्लो समय नतिजा आउनुअगावै शिक्षण संस्थाले विद्यार्थी भर्ना प्रक्रिया अघि बढाएको गुनासो बढ्दै गएको भन्दै उनले भने, ‘यस सम्बन्धमा मन्त्रालयमा छलफल भइरहेको छ ।’ 

उनका अनुसार परीक्षापछि नतिजा नआउञ्जेलका लागि विद्यार्थीलाई पढाईप्रति समेत उत्साहित गरिरहने गरी विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । 

काठमाडौं महानगरको चेतावनी     

काठमाडौं महानगरपालिकाले एसईईको नतिजा प्रकाशन नै नभई शिक्षण संस्थाहरुलाई कक्षा ११ को भर्नासम्बन्धी प्रक्रिया अघि नबढाउन निर्देशन दिँदै आएको छ । महानगर क्षेत्रभित्र सञ्चालित शिक्षण संस्थालाई नतिजा प्रकाशन हुनुअगावै कक्षा ११ मा विद्यार्थी भर्ना गरेमा कारबाही गर्ने चेतावनी दिएपनि अझै यस्तो काम रोकिएको छैन । गत असारमा एसईईको नतिजा सार्वजनिक भएपनि राजधानीका ठूला र नाम चलेका कलेजहरुले वैशाखदेखि नै भर्ना अभियान चलाएका थिए । 

नतिजामा ढिलाइको प्रवृत्ति

शिक्षाविद् विद्यानाथ कोइराला परीक्षा दिएको महिनौंसम्म पनि नतिजा नआउने र शिक्षण संस्थाहरुले पहिल्यै भर्ना खोल्ने प्रवृत्तिका कारण अभिभावकहरु छोराछोरीलाई भर्ना गर्न बाध्य हुने गरेको बताउँछन् । 

‘अन्य मुलुकमा परीक्षा दिएपछि निश्चित समयभित्र नतिजा आउँछ । नतिजा नआउन्जेल विद्यार्थीका लागि विभिन्न सिकाई तथा सिपमूलक कार्यक्रम राखिएको हुन्छ,’ उनले भने, ‘तर, हाम्रोमा यस्तो केही गरिँदैन । परीक्षा दिएको महिनौंसम्म पनि नतिजा आउँदैन । अर्कोतर्फ, कलेजहरुले छिट्टै भर्ना खोल्छन् । त्यसमा पनि सिट निश्चित हुने हुँदा अभिभावकहरु पहिल्यै छोराछोरी भर्ना बाध्य हुने गरेका छन् ।’ 

नतिजा ढिलो आउने प्रवृत्तिका कारण विद्यार्थीहरुले पढाई छोड्ने वा विदेश पलायन हुने क्रमसमेत बढेको उनको ठहर छ । उनले विद्यार्थीमैत्री शिक्षा प्रणालीको विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि समग्र शैक्षिक प्रणालीमा नै सुधार गर्नुपर्ने बताए । साथै, विद्यार्थीको सिकाईप्रति अभिभावक, विद्यालय र सरकारलाई जोड दिन आग्रह गर्दै भने, ‘शिक्षण संस्थाहरुले विद्यार्थी भर्नामा मात्र होइन, शिक्षामा पनि जोड दिनुपर्छ ।’

टिप्पणीहरू