एआइजीको सर्टिफिकेट काण्ड कसरी टुङ्गिएला ?
शैक्षिक प्रमाणपत्र किर्ते तथा नागरिकता केरमेट प्रकरणका आरोपित नेपाली सेनाका वरिष्ठ रथी अशोक सिग्देलले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी पाए । तर,त्यस्तै आरोप लागेका सिआइबी प्रमुख एआइजी श्यामलाल ज्ञवाली भने छानविनमा तानिएका छन् ।
सरकारले सिग्देललाई भावी सेनापतिको लाइनमा अघि सार्दै अहिले कामु सेनापति बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकको उक्त निर्णयसँगै भदौ २४ मा कार्यकाल सकेर घर जान लागेका प्रभुराम शर्माको उत्तराधिकारीका रुपमा सिग्देलले सैनिक नेतृत्व लिने छन् । तर, शैक्षिक प्रमाणपत्रमा दुईथरी जन्ममिति रहेको भनिएका उनीमाथि जन्ममिति सच्याउन नागरिकतामा केरमेट गरेको आरोप छ ।
सिग्देलसँग मिल्दोजुल्दो आरोप लागेका ज्ञवालीविरुद्ध केही दिनअघि नक्कली सर्टिफिकेट बनाएको,छोराछोरीलाई विदेशमा पढाएको,नागरिकतामा उमेर परिवर्तन गरेको लगायतका आरोपसहित प्रहरी प्रधान कार्यालयको छानविन निर्देशनालयमा उजुरी परेको थियो । उक्त उजुरीउपर अनुसन्धान गर्न आइजीपी वसन्त कुँवरले प्रहरी विद्यालय प्रमुखसमेत रहेका एआइजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेका हुन् ।
यसअघिका गृहमन्त्री रवि लामिछानेसँग विशेष सम्बन्ध रहेको भनिएका एआइजी ज्ञवाली सुन प्रकरणमा पनि विवादित छन् । ६० किलो सुन तस्करी प्रकरणका फरार आरोपित जीवन चलाउनेसँग उनको निकटता रहेको भन्नेबारे पनि सोधपुछ गर्न उजुरीमा माग गरिएको छ ।
सिआइबी प्रमुख ज्ञवालीसँग लामो समय काम गरेका एक एसपीले भने यो एउटा नियमित प्रक्रिया मात्रै भएको बताए । उजुरी गर्न पाउने अधिकार जो-कोहीसँग पनि हुने तर, त्यसले तथ्य स्थापित गर्नुपर्ने उनको बुझाई छ । ज्ञवालीविरुद्ध उजुरीमा सत्यता नभएको उनले दाबी गरे ।
ती एसपीले जनआस्थासँग भने, ‘हेडक्वार्टरमा उजुरी पर्दैमा के-के होला भन्ने हुँदैन,त्यसको ग्र्याभिटी कति छ भन्ने मुख्य कुरा हो । त्यसकारण मलाई लाग्छ यो एउटा नियमित प्रक्रिया मात्रै हो ।’
आफ्ना छोराछोरीलाई कहाँ पढाउने भन्ने कुरा व्यक्तिगत भएकाले त्यसलाई ठूलो इस्यु बनाउन नहुनेमा ती एसपीले जोड दिए । सिआइबी प्रमुख ज्ञवालीको सर्टिफिकेट र उमेरबारे विवाद सिर्जना गर्नुको पनि कुनै तुक नभएको उनको बुझाई छ ।
‘मेरो छोरो पनि पढ्न बाहिर जाँदैछ, यसलाई इस्यु बनाउनु त भएन नि !',ती एसपी भन्छन्, 'र,रह्यो एआइजी सा'पको अरु विवाद, त्यो कसैलाई लाग्यो, उसले हेडक्वार्टर पुगेर उजुरी दियो,त्यत्ति हो । यस्ता सामान्य उजुरी आइरहन्छन्, त्यसको खासै अर्थ हुँदैन ।’
टिप्पणीहरू