मधेशमा थालियो मसलाको रुख मास्ने अभियान

मधेशमा थालियो मसलाको रुख मास्ने अभियान

महोत्तरीको मनराशिसवा नगरपालिकाले सपेता (मसला) को रुख काट्न सूचना जारी गरेको छ ।  सपेताको रुख काट्न तीन महिनाको समय दिइएको छ । उक्त रुखका कारण मधेशमा पानीको सतह घटेको नगरपालिकाले जनाएको छ । 

‘मनराशिसवा नगरपालिका क्षेत्रलगायत मधेशको सम्पूर्ण क्षेत्रमा पानी सतह निकै नै तल गइरहेको अवस्थाका कारण मूल रुपले सपेता (मसला) को रुख रहेकोले यस क्षेत्रको खेतीयोग्य जमिनको उर्वराशक्ति कमजोर साथै पानी बढी सोस्ने र जमिनहरुलाई बाँझोपन बनाउने कुरा सबैमा सर्वविदितै छ । त्यसकारण मनराशिसवा नगरपालिकाको १२ औं नगर सभाको निर्णयानुसार यस नगरपालिकाभित्रको कृषियोग्य जमिन तथा पानीको सतह सुरक्षित राख्न सपेता मसलाको बोटविरुवालाई विस्थापित गरी अन्य प्रजातिको बोटविरुवा लगाउने...’,सूचनामा उल्लेख छ । 

त्यस्तै, तोकिएको अवधिमा रुख नकाटेमा नगरप्रहरी तथा नगरपालिकाका कर्मचारीहरुद्धारा काटिने चेतावनी दिइएको छ । मधेशका अधिकांश स्थानीय तहमा सपेताको रुख लगाइएको छ । राम्रो आम्दानी हुने भएकाले लगाइएको रुखले मधेशलाई नै सुख्खा बनाउँदै लगेको निश्कर्ष निकालिएको हो । सो रुखका कारण जमिनको उर्वराशक्ति पनि कमजोर भएको बताइन्छ । 

उक्त रुखले जमिनलाई सखाप पारेपछि सिराहाको कर्जन्हा नगरपालिकाले गत जेठमा रुख काट्ने अभियान थालेको थियो । सपेता प्रजातिको रुख हटाएर नगरपालिकाले उक्त स्थानमा अन्य उपयोगी बिरुवा लगाउन थालेको हो ।

टिप्पणीहरू