केन्द्रीय सदस्य छान्न समाजवादीको कार्यदल

केन्द्रीय सदस्य छान्न समाजवादीको कार्यदल

नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

आज आलोकनगरस्थित मुख्यालयमा बसेको केन्द्रीय कमिटी बैठकले त्यस्तो निर्णय गरेको हो । नेता जगन्नाथ खतिवडाले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई सो जिम्मेवारी प्रदान गरिएको बताए ।

बैठकका निर्णयबारे जानकारी दिँदै उनले भने,‘आजको बैठकले हाम्रो केन्द्रीय कमिटीलाई पूर्णता दिनका लागि अन्तिम गृहकार्य गर्नेगरी र बैठकमा प्रस्तुत गर्नेगरी पार्टी अध्यक्ष माधवकुमार नेपाल,सम्मानित नेता झलनाथ खनाल, पार्टीका महासचिव घनश्याम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ ।'

तीन नेता सम्मिलित कार्यदलले १८ गते बस्ने बैठकमा प्रस्ताव प्रस्तुत गर्ने निर्णय भएको पनि खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौंमा भएको थियो । महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । १० दिनभित्र बाँकी पदाधिकारी र केन्द्रीय सदस्य टुंगो लगाउने भनिए पनि अहिलेसम्म टुंगिएको छैन ।

टिप्पणीहरू