सर्वोच्चको एनेक्स हलमा कर्मचारी संगठनको ताला
सर्वोच्च अदालतको एनेक्स भवनमा ताला लगाइएको छ । व्यापारिक प्रयोजनका लागि भवन प्रयोग गर्न दिएको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन, सर्वोच्च अदालत विभागीय कार्यसमितिले आज ताला लगाएको छ ।
नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, सर्वोच्च अदालत विभागीय कार्यसमितिले हिजोदेखि सर्वोच्चभित्रै श–शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको हो । संगठनले कक्षामा सहभागी कर्मचारीसँग प्रतिव्यक्ति साढे १३ हजार रुपैयाँ भर्ना शुल्क लिएको छ ।
सर्वोच्च प्रशासनले लाखौं रुपैयाँ खर्चिएर मर्मत गरेको उक्त भवन अमुक संगठनको पैसा कमाउने ठाउँ बनेको भन्दै तालाबन्दी गरिएको हो । गैरकानूनी रुपमा व्यापारव्यवसाय सञ्चालनका लागि हलको प्रयोग गर्न नदिन अदालत प्रशासनसँग अनुरोध गरेपनि सुनुवाई नभएको संगठनको आरोप छ ।
‘व्यापारिक प्रयोजनार्थ लोकसेवा तयारी कक्षा सञ्चालन गर्न हल नदिन अनुरोध गरेकोमा आज पनि कक्षा सञ्चालन भएको देखिएकाले सो सम्बन्धमा सर्वोच्च अदालत प्रशासनबाट कुनै सुनुवाई नभएको हुँदा सार्वजनिक सम्पत्तिलाई दुरुपयोग हुन नदिन आजैदेखि हालमा तालाबन्दी गर्ने निर्णय गरिएको जानकारी गराइन्छ,’ सर्वोच्चका मुख्य रजिष्ट्रारलाई बुझाइएको पत्रमा उल्लेख छ ।
संगठनले समस्या समाधान नभएसम्म हलमा लगाइएको ताला नखोल्न समेत बताएको छ । सर्वोच्चको एनेक्स भवनको सभाहलमा हिजोदेखि लोकसेवाको तयारी कक्षा सञ्चालन भएको छ । एमालेनिकट कर्मचारीहरुले साढे दुई महिनाका लागि हरेक बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म कक्षा सञ्चालन गरेका हुन् ।
टिप्पणीहरू