आफ्नै स्टाफ ताक्ने सेनाका हाकिमको जागिर गयो
घरमा श्रीमती हुँदाहुँदै आफ्नै सहकर्मी ताक्ने प्रमुख सेनानी विशेष पौडेल कारबाहीमा परेका छन् । सैनिक अदालतले उनलाई सेवाबाट हटाउने फैसला गरेको छ ।
दुई महिना हिरासतमा बसेका उनलाई गत शुक्रबार सैनिक आचरणविपरीतको कसूरमा दोषी ठहर गर्दै अदालतले सेवाबाट हटाउने फैसला सुनाएको स्रोतले बतायो । स्रोत भन्छ,‘गएको शुक्रबार सैनिक अदालतले उहाँलाई दोषी ठहर गरेको छ । कारबाहीस्वरुप जागिरबाट निकालिएको छ । उहाँले पेन्सन पनि पाउनुहुन्न । दुई महिना थुनामा राखेर गरिएको अनुसन्धानपछि सैनिक अदालत यो नतिजामा पुगेको हो ।’
काठमाडौंको डिल्लीबजारस्थित बन्दोबस्ती अड्डामा कार्यरत उनले अनैतिक उद्देश्यसहित होटलमा बोलाएको भन्दै महिला ब.का.सि (बन्दोबस्ती कार्य सिपाही) ले केही महिनाअगाडि उजुरी दिएकी थिइन् । त्यसलगत्तै उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।
"कारबाहीस्वरुप जागिरबाट निकालिएको छ । उहाँले पेन्सन पनि पाउनुहुन्न । दुई महिना थुनामा राखेर गरिएको अनुसन्धानपछि सैनिक अदालत यो नतिजामा पुगेको हो ।’
अनुसन्धानका क्रममा उनको कसूर पुष्टि भएपछि अदालतले सेवाबाट हटाएको हो । सेनाका सूचना अधिकारी सहायक रथी गौरवकुमार केसीले जनआस्थालाई प्राप्त सूचना पुष्टि गरे । भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिनेगरी सेवाबाट हटाइएको उनको भनाइ छ ।
उनी भन्छन्,‘मुध्दा चलेको लामो समय भइसकेको थियो । अनुसन्धान क्रममा उहाँले सैनिक आचरणविपरीतको कसूर गरेको पुष्टि भएपछि भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिनेगरी कारबाही गरिएको हो ।’
उनका अनुसार पौडेलले पेन्सन पाउँदैनन् । पेन्सन पाउनका निम्ति सेवा अवधि नपुगेको हुनाले निवृत्तिभरणबाट वञ्चित भएको उनले जानकारी दिए ।
‘भविष्यमा सरकारी सेवामा अयोग्य ठहर नहुनेगरी कारबाही भएकाले पेन्सन पाउनुहुन्छ । तर, उहाँको सेवा अवधि पुगेको रहेनछ । त्यसैले उहाँ निवृत्तिभरणबाट वञ्चित हुनुभएको छ’, केसीले भने । पौडेलको परिवारमा श्रीमती र एउटा छोरा र एउटी छोरी छन् ।
टिप्पणीहरू