नेशनल आइडीका लागि फोटो खिच्दा सिन्दुर पुछ्न नपर्ने
राष्ट्रिय परिचय पत्र (नेशनल आइडी)का लागि तस्बिर खिच्दा महिलाले सिन्दुर लगाउन पाउने भएका छन् । यसअघि सिन्दुर र टिकासमेत हटाएर फोटो खिच्नुपर्ने नियम रहेकोमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले उक्त व्यवस्था हटाएको हो ।
विभागले सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र राष्ट्रिय परिचयपत्र इकाईलाई परिपत्र गर्दै फोटो खिच्दा सिन्दुर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने बताएको छ । त्यस्तै, स्पष्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिच्नुपर्ने जनाइएको छ ।
विभागले विवरण दर्ता गर्दा व्यक्तिले पेश गरेको नागरिकताको प्रमाणपत्रबाहेक अन्य कागजात राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा स्क्यान गरी प्रविष्ट गर्ने प्रयोजनका लागि सक्कलबमोजिम नक्कल ठिक छ भनी प्रमाणीत गरेको आधारमा दर्ता प्रक्रिया अघि बढाउनुपर्ने पनि बताएको छ ।
व्यक्तिको नागरिकतामा केही विवरण स्पष्ट नभएको खण्डमा नागरिकताको अभिलेखबाट समेत रुजु गरी विवरण दर्ताको व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ ।
टिप्पणीहरू