सर्वोच्चमा ट्युसन पढाउन नपाइने,ताला खोलियो

सर्वोच्चमा ट्युसन पढाउन नपाइने,ताला खोलियो

नेपाल राष्ट्रिय कर्मचारी संगठन,सर्वोच्च अदालत विभागीय कार्यसमितिले एनेक्स भवनको सभाहलमा लगाइएको ताला खोलेको छ । 

लाखौं रुपैयाँ खर्चिएर मर्मत गरिएको उक्त हल व्यापारिक प्रयोजनका लागि अमुक संगठनलाई प्रयोग गर्न दिएको भन्दै संगठनले हिजो ताला लगाएको थियो । तर,अदालत प्रशासनले हलमा लामो अवधिको कार्यक्रम सञ्चालन गर्न अनुमति नदिने निर्णय गरेपछि ताला खोलिएको हो । 

संगठनका अध्यक्ष हरि भट्टराईले हलमा व्यवसायिक ट्युसन सेन्टर चलाउन नदिने अदालती निर्णयको स्वागत गर्दै तालाबन्दी कार्यक्रम फिर्ता लिएको जानकारी दिए । 

नेकपा एमालेनिकट निजामती कर्मचारी संगठन,सर्वोच्च अदालत विभागीय कार्यसमितिले अस्तिदेखि साढे दुई महिनाका लागि सर्वोच्चभित्रै स–शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको थियो । कक्षामा सहभागी कर्मचारीसँग भर्ना शुल्क भन्दै प्रतिव्यक्ति साढे १३ हजार रुपैयाँ उठाएर अदालतभित्रै ट्युसन सेन्टर चलाएकोमा चर्को विरोध भएको थियो ।

टिप्पणीहरू