लेबनानमा रहेका नेपालीलाई सतर्क रहन आग्रह
इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा रहेका नेपाली नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ ।
इजरायलले लेबनानको राजधानी बेरुतमा गरेको आक्रमणमा हिजबुल्लाहका शीर्ष कमाण्डर फुआद शुक्र मारिएपछि विकसित पछिल्लो घटनाक्रमलाई लिएर दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्क गराएको हो । दूतावासले आज सूचना जारी गर्दै आवश्यक सतर्कता अप्नाउन र कुनै समस्या परेमा कायरोस्थित दूतावास तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासमा सम्पर्क गर्न सूचित गराएको छ ।
‘लेबनानमा विकसित घटनाक्रमका सन्दर्भमा उक्त मुलुकमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई आवश्यक सतर्कता तथा सचेतना अप्नाउन एवं सहायताका लागि नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका देहायअनुसारको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ’, सूचनामा उल्लेख छ ।
दूतावासले कायरो र बेरुतमा सम्पर्क व्यक्ति तोकेको छ । कुनै अप्ठेरो परेमा कायरोका द्धितीय सचिव दीपक घिमिरेको फोन नम्बर २०१०९७७७२३४८, तृतीय सचिव माधवराज काफ्लेको फोन नम्बर २०१००२५०५९९७ वा बेरुतको अवैतनिक महावाणिज्यदूत मोहम्मद गोजायलको फोन नम्बर ९६१३३०११८१, ९६१७१६८८८२१, ९६१८१८८३७१३ मा सम्पर्क गर्न भनिएको छ ।
टिप्पणीहरू