अब यताउता हुने गुप्तचरको पालो

अब यताउता हुने गुप्तचरको पालो

सत्ता साझेदार नेपाली कांग्रेसलाई समेत खासै भाउ नदिई प्रधानमन्त्रीको तजबिजमा २१ जना सचिव सरुवा गरेको सरकारले अब गुप्तचरका डिआइजी हेरफेरको तयारी थालेको छ । प्रदेश प्रमुखको रुपमा रहेका सातै क्षेत्रका डिआइजीहरु फेरबदल गर्न लागिएको हो । 

उच्च जानकार स्रोतका अनुसार राष्ट्रिय अनुसन्धान विभागले डिआइजी सरुवाको सिफारिस दुई दिनअघि नै प्रधानमन्त्री कार्यालय पठाइसकेको छ । जसमा कोशी प्रदेशका किशोर श्रेष्ठलाई सुदूरपश्चिम पठाउन प्रस्ताव गरिएको छ । 

उनले गण्डकी वा लुम्बिनीमध्ये एक ठाउँमा जान इच्छा देखाएका थिए । तर, यसअघि डडेल्धुरा र बैतडी बसेका उनलाई फेरि उतै धपाइन लागिएको हो । श्रेष्ठको ठाउँमा सुदूरपश्चिमका इन्द्र लामालाई ल्याउन सिफारिस गरिएको छ । 

मधेस प्रदेशका सञ्जय यादव बागमती सरुवा हुँदैछन् । बागमतीका रामप्रसाद दासलाई लुम्बिनी पठाउने तयारी छ । द्वन्द्वताका आफ्नै अफिस बारामा गोइतमार्फत बम पड्काउन लगाएको आरोप लागेका दासले रोजेरै दाङ जाने मौका पाएको बताइन्छ । 

यता,लुम्बिनीका ओम खड्कालाई कर्णाली पठाएर त्यहाँका माधव तिमल्सिनालाई मधेश झार्ने तयारी छ । गुप्तचर प्रमुख हुतराज थापाको भित्रिया भनेर चिनिने प्रजेश सिंह हमाललाई गण्डकी प्रदेशमा सरुवा गर्न लागिएको छ । मदिराले मातेको फोटो सामाजिक सञ्जालमा हालेर विवादमा परेका उनको रुचिअनुसार हुतराजले पोखरा पठाउन सिफारिस गरेको उच्च स्रोत बताउँछ । 

दुइ दिनअघि प्रधानमन्त्री कार्यालय पुगेको सरुवासम्बन्धी फाइल केही दिनमै सदर गरी भदौबाट डिआइजीहरुलाई नयाँ कार्यक्षेत्रमा खटाइने सम्भावना छ ।

टिप्पणीहरू