गुरुले चिट चोर्न नदिएपछि गलफत्ती
काठमाडौंको ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसका शिक्षकमाथि हातपात भएको छ ।
चिट चोर्न नदिएको भन्दै परीक्षार्थीहरुले शिक्षकमाथि हातपात तथा दुर्व्यवहार गरेका छन् । चार जना परीक्षार्थीले शिक्षकमाथि हातपात गरेको क्याम्पस प्रमुख गोलमान गुरुङ्गले बताए । उनका अनुसार बाहिरबाट ल्याएको उत्तरपुस्तिकासहित पक्राउ परेपछि घटना भएको हो ।
‘मंगलबार स्नातकोत्तर तहको परीक्षा चलिरहेको थियो । चार जना परीक्षार्थीले बाहिरबाट लेखेर उत्तरपुस्तिका ल्याएका रहेछन् । सो उत्तरपुस्तिका बुझाएर परीक्षा हलमा दिइएको उत्तरपुस्तिका घर लैजान खोज्दा उनीहरु समातिएका हुन् । ४० जनाले त्यसरी उत्तरपुस्तिका ल्याएको तर आफूहरुलाई मात्र समातेको भन्दै उनीहरुले शिक्षकलाई हातपात गरे र ममाथि पनि भयो’,उनले भने ।
शिक्षकमाथि दुर्व्यवहार गर्ने सबै विभिन्न विद्यार्थी संगठनमा आबद्ध भएको गुरुङ्गको भनाइ छ । घटनामा संलग्न केही परीक्षार्थी सोही क्याम्पसका पूर्वविद्यार्थी पनि हुन् ।
टिप्पणीहरू