छोरीको सपना साकार पार्न फुटपाथमा कपडा सिलाउँदै

छोरीको सपना साकार पार्न फुटपाथमा कपडा सिलाउँदै

छोराछोरीको प्रगतिमा आमाबुवाभन्दा बढी खुशी को होलान् ? छोराछोरीका लागि आमाबुवाले कतिसम्म संघर्ष र मेहनत गर्न सक्छन् ? जवाफको निम्ति इटहरीका रमेश परियारलाई सोधे पुग्छ । सडकमा सिलाई पेशा गरेर कमाएको पैसाले छोरीलाई गायिका बनाउन उनी लागिपरेका छन् । 

१२ वर्षीया जेठी छोरी टेनिसालाई गायिका बनाउने उनको धोको छ । टेनिसा यतिबेला कान्तिपुर टेलिभिजनबाट प्रशारण भइरहेको ‘भ्वाइस किड्स’ को भोटिङ्ग राउण्डमा पुगेकी छन् । टप २४ सम्म आइपुगेकी टेनिसालाई अगाडि जान दर्शकको भोटको खाँचो परेको छ । जसको बढी भोट आयो, उही टप १६ र टप ८ हुँदै फाइनल राउण्डमा छानिन्छ । 

रमेशले छोरीलाई अगाडि बढाउन आफ्नो सिलाई मेसिनसँगै छोरीको पोस्टर नै टाँगेका छन् । फुटपाथमा बसेर लुगा सिलाउने उनले भोटसँगै आर्थिक सहयोगको अपिलसमेत गरिरहेका छन् । 

पोस्टरमा ‘भोट फर टेनिसा’ लेखिएको छ । त्यस्तै, आर्थिक सहयोगका लागि क्युआर कोड पनि सँगै राखिएको छ । इटहरी उपमहानगरपालिका–१, पिपलचोकमा डेरामा बस्दै आएका रमेश र गंगाका एक छोरी र एक छोरा छन् । टेनिसा विश्व आदर्श स्कुलमा छात्रवृत्तिमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन् ।

 

रमेश पनि गायक भएकाले सन्दिप मोते नामल दुईवटा गीति एल्बम् निकालिसकेका छन् । पारिवारिक माहौल सांगीतिक भएकोले टेनिसाले सानैदेखि गीत–संगीतमा रुचि राख्थिन् । उनी विद्यालय र स्थानीय स्तरमा हुने कार्यक्रममा पनि गीत गाउँथिन् । 

आफ्नी छोरीको गीतप्रतिको लगाव देखेर रमेशले ‘भ्वाइस किड्स’ मा भाग लिन पठाए । अडिसन्स राउण्डबाट छानिएपछि उनले सिलाई पेशा गरेर बचाएको पैसाले टेनिसालाई आमा र भाइसँग काठमाडौं पठाएका हुन् । 

काठमाडौंमा कोही नभएकाले उनीहरु लजमा बसेका छन् । आफ्नो सुरिलो गायकीले गर्दा ‘ब्लाइण्ड’ र ‘ब्याटल’ राउण्ड पार गर्न सफल भएपछि टेनिसा भोटिङ्ग राउण्डमा टप २४ मा छानिएकी हुन् । 

टेनिसाले फाइनल राउण्डमा पुग्न अझै धेरै संघर्ष गर्नुपर्ने हुन्छ । त्यसैले काठमाडौं बसाइँ अझै लम्बिन सक्छ । रमेशले सिलाई पेशा गरेर दैनिक पाँचदेखि सात सय रुपैयाँ कमाउँछन् । उनलाई कसरी खर्च धान्ने भनेर चिन्ताले पिरोल्न थालेको छ । 

‘टेनिसालाई बास बस्न र खानका लागि दैनिक १५ सय रुपैयाँ लाग्छ । साथीभाइसँग गुहारेर अहिलेसम्म जेनतेन गर्जो टारिरहेको छु । तर, बसाइँ लम्बियो भने खर्चकै कारण छोरीले प्रतिस्पर्धा छोड्नुपर्ने हो कि भन्ने डर छ’,रमेशले दुःखेसो पोखे ।

टिप्पणीहरू