धुलिखेलमा नागरिकताभन्दा राहदानी लिनेको ओइरो
जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकमा नागरिकताभन्दा राहदानी लिने बढी देखिएका छन् । पछिल्लो एक वर्षमा झण्डै साढे १० हजार नागरिकता जारी हुँदा १५ हजार बढीले राहदानी लिएका छन् ।
प्रशासनका अनुसार यसबीचमा १० हजार ४२९ वटा नयाँ नागरिकता जारी भएको छ । तीमध्ये १२ वटा आमाको नामबाट र सात वटा अंगीकृत नागरिकता हुन् । त्यस्तै, सोही अवधिमा नौ हजार २२४ वटा नागरिकताको प्रतिलिपि जारी भएको प्रशासनले जनाएको छ ।
त्यसैगरी पछिल्लो एक वर्षमा ५५ जनाले नागरिकता त्यागेका छन् भने ५३ जनाले गैरआवासीय नागरिकता लिएका छन् । ९ वटा नागरिकता रद्द गरिएको छ । राष्ट्रिय परिचयपत्रका लागि १९ हजार ७७५ जनाले फोटो खिचाएका छन् । एक हजार ९३४ जनालाई परिचयपत्र वितरण गरिएको छ ।
राहदानीका लागि आवेदन गरेका १७ हजार ९०३ जनामध्ये १५ हजार ७६८ ले प्राप्त गरिसकेका छन् । राहदानी विभागको सिफारिसमा ११५ जनाले राहदानी बनाएको बताइएको छ । राहदानी लिएकामध्ये अधिकांश वैदेशिक रोजगारीमा खाडी मुलुक गइसकेका छन् । त्यसैगरी, ७२४ जनाले नाबालक परिचयपत्र पनि बुझेका छन् ।
टिप्पणीहरू