सीधा कुराविरुद्धको मुध्दा भदौ ६ गते छिनोफानो हुने
सर्वोच्च अदालतले आगामी भदौ ६ गते सिधा कुरा डटकमविरुद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी मुध्दामा अन्तिम फैसला सुनाउने भएको छ । आजको बृहत पूर्ण इजलासले साउन ३२ गतेभित्र बहस नोट पेश गर्ने र भदौ ६ गते फैसला सुनाउने आदेश गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए ।
‘उहाँहरुलाई साउन ३२ गते बहस पेश गर्न आदेश भएको छ । त्यस्तै,आजको इजलासले भदौ ६ मा फैसला सुनाउने निर्णय गरेको छ’,उनले भने । बहस नोट कानुन व्यवसायीलाई गर्ने आदेश हो । कानुन व्यवसायीले आफूले गर्ने बहस शब्दमा पेश गरेपछि फैसला गरिन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जिबी राईको सुनौलो परियोजना ‘ग्यालेक्सी फोर के’ मा प्रसारित सीधा कुरा कार्यक्रमको अनलाइन संस्करण ‘सीधा कुरा डटकम’ ले ‘द डार्क फाइल’ नामक कार्यक्रमबाट एउटा शंकास्पद अडियो सार्वजनिक गरेको थियो ।
‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेशन’ शीर्षकको समाचार सामग्रीमा उठाइएको विषयवस्तु कपोलकल्पित र भ्रामक भएको भन्दै सर्वोच्चका सूचना अधिकारी घिमिरेले सर्वोच्चमा अदालतको अवहेलना मुध्दा दायर गरेका थिए ।
टिप्पणीहरू