बयान फेरेपछि घुस दिनेविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेरेका सरकारी साक्षीविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रुपमा पेश गरेको कास्कीको पोखरा महानगरपालिका–१०, बस्ने चितवनका केशरीप्रसाद तिवारी र उर्मिला पौडेलउपर मुद्दा दर्ता गरेको छ ।
आयोगको पोखराबाट खटिएको टोलीले गत चैत २८ गते पोखरा महानगरपालिकाकी सबइञ्जिनियर उषाकिरण रोकाया र गोदार इञ्जिनियरिङ कन्सलटेन्सी सेवाका सुरज कुँवरलाई डेढ लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।
अनुसन्धानको क्रममा उनीहरुले घर निर्माण सम्पन्न प्रमाणपत्रका लागि सेवाग्राहीसँग घुस लिएको खुल्न आएको थियो । त्यसमा महानगरका घरनक्सा शाखाका इञ्जिनियर शिवप्रसाद बरालको समेत संलग्नता देखिएपछि उनलाई गत वैशाख ५ गते पक्राउ गरिएको थियो ।
पछि उनीहरुले एउटै कामका लागि पटकपटक गरेर साढे तीन लाख रुपैयाँ घुस बुझेको खुलेको अख्तियारको भनाइ छ । विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध मुद्दा दर्ता गर्ने समयमा सोही बयान दिएका केशरीप्रसाद र उर्मिलाले अदालत पुगेपछि भने बयान फेरेको आयोगको आरोप छ ।
उनीहरुले आयोगबाट अनुसन्धानको क्रममा गरिएको बयान व्यहोराको प्रतिकूल हुनेगरी बकपत्र गरेको पुष्टि भएको छ ।
‘निजहरुले विशेष अदालत काठमाडौंसमक्ष बकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको हुँदा निजहरु केशरीप्रसाद तिवारी र उर्मिला पौडेलले आफ्नो कास्कीको पोखरा महानगरपालिका–१०, मा निर्माण भएको घरको सम्पन्न प्रमाणपत्र प्राप्त गर्न प्रतिवादीहरु शिवप्रसाद बराल, उषाकिरण रोकाया, सुरज कुँवरसमेतलाई तीन हजार ५० हजार रुपैयाँ घुस÷रिसवत दिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अन्तर्गतको कसुर रहेको,’ अख्तियारले भनेको छ ।
सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र बिगोबमोजिम जरिवाना हुन मागदाबी गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध आरोपपत्र दायर गरेको हो ।
टिप्पणीहरू