कोटीहोममा राजनीतिज्ञदेखि कलाकारको धुइरो

कोटीहोममा राजनीतिज्ञदेखि कलाकारको धुइरो

पशुपति वनकालीमा साउन १ गतेदेखि जारी कोटीहोममा सर्वसाधारणसँगै राजनीतिक दलका नेता, कलाकारलगायत सेलिब्रेटीहरुको घुइँचो लाग्ने गरेको छ । साउन महिनाभर चल्ने महायज्ञमा आज जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउत सहभागी भएका छन् । 

दिउँसो वनकाली पुगेका उनले कथा श्रवणसमेत गरेको बताइएको छ । राउतले जनतामा आध्यात्मिक चेतनाको लहर चलेको भन्दै खुशी व्यक्त गरेका छन् ।

कोटीहोममा हिजो पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका थिए । 

जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकबाट कथा प्रवचन भइरहेको धार्मिक कार्यक्रममा चल्तीका थुप्रै कलाकारहरु पुगिरहेका छन् । आजै त्यहाँ पुगेकी अभिनेत्री केकी अधिकारीले महायज्ञमा सहभागी हुँदा मनमा शान्ति मिलेको बताइन् । 

यसअघि कलाकारहरु रामकृष्ण ढकाल, राधिका हमाल, कोमल वली, निखिल उप्रेती, कमल खत्री, मेलिना मैनालीलगायत पनि कथा सुन्न पुगेका थिए । आमालाई लिएर महायज्ञ हेर्न गएका पल शाहले एक लाख रपैयाँ दान गरेको विषयले चर्चा पाएको छ । 

अन्य कलाकारहरुले दान गरेको बताइएपनि रकम खुलाइएको छैन । यो सातादेखि यज्ञमा देवी चन्द्रकलासहितले कथावाचन गरिरहेका छन् ।

टिप्पणीहरू