टोकियोस्थित नेपाली दूतावासमाथि लप्पनछप्पनको आरोप
जापान बस्ने नेपालीले राहदानी बनाउने क्रममा छुट्टै रकम तिर्नुपर्ने अवस्था उत्पन्न गराइएको आरोप त्यहाँको नेपाली दूतावासमाथि लगाएका छन् ।
राजधानी टोकियोस्थित नेपाली दूतावासले राहदानी बनाउन चाहनेलाई अनलाइन आवेदनको निम्ति मुश्किलले पाँच मीनेट उपलब्ध गराएपछि त्यहाँ रहेका नेपाली अघोषित दलालमार्फत् राहदानी बनाउन बाध्य भएका हुन् । जापानमा झण्डै २ लाख नेपाली अध्ययन र रोजगारीको निम्ति बस्दै आएका छन् ।
विशेषगरी सूचना प्रविधिमा निकै चलाखहरुले दूतावासका कर्मचारीसँग मिलेर राहदानी अनलाइन आवेदनलाई जानाजान ढिलो वा बिजी बनाउने गरेको उनीहरुको आरोप छ । राहदानीका लागि पटक पटक आवेदन गर्न समय नपाएपछि व्यस्त जीवन बिताइरहेका सर्वसाधारण नेपाली ‘गतिलो स्रोत’ को खोजीका लागि बाध्य भएका हुन् ।
‘पासपोर्ट बनाउन निकै जटिल हुँदै गएको छ,’ जापानस्थित स्रोत भन्छ, ‘पासपोर्ट आवेदनको समय नै पाईंदैन । दुई लाख मान्छेका लागि तीन जना स्टाफ खटाइएको छ । त्यसमा पनि अनलाइन सिष्टम अवरुद्ध पारेपछि समयमा काम हुने सम्भावना नै रहेन ।’
हालै जापानमा रहेका एक जनाले राहदानी आवेदनका लागि समय पाउन तीन हजार जापानी येन तिरेको वास्तविकता खुलाए । उनी भन्छन्, ‘विशेषगरी नेपाली रेष्टुरेन्ट व्यवसायमा संलग्न छन् । अरु पेशामा रहेका पनि उत्तिकै व्यस्त हुन्छन् । अनलाइनमा सँधै समस्या देखिएपछि उनीहरु रेष्टुरेन्ट मालिकहरुको सेटिङमा ठूलो रकम तिरेर राहदानीको निम्ति समय मिलाउन बाध्य छन् ।’
टिप्पणीहरू