बेइजिङको सार्वजनिक यातायातमा विदेशीहरुलाई थप सुविधा
चीनको राजधानी बेइजिङको सार्वजनिक यातायातलाई थप विदेशीमैत्री बनाउन नयाँ योजना थालिएको छ । बेइजिङ महानगरले एउटा यातायात पासको माध्यमबाट विदेशी पाहुनाले पूरै सहरको यात्रा सहजै गर्नसक्ने जनाएको छ ।
सबैभन्दा पहिले त्यस्तो पासले सबवेको यात्रा सहज हुनेछ । विदेशी यात्रुको साथमा रहेको अन्तर्राष्ट्रिय बैंक कार्डबाट खरिद गर्न सकिने बेइजिङ यातायात पासले त्यहाँको सात वटा रेलवे स्टेसन र दुई वटा विमानस्थल जोडेको सबवेमा यात्रा गर्न सजिलो हुने छ ।
अहिले उक्त पासको परीक्षण भइरहेको छ । यसको मुख्य उद्देश्य विदेशी यात्रुलाई बेइजिङ घुमघाममा कुनै असहज नहोस् भन्ने रहेको बेइजिङ इन्टरनेसनल स्टडिज युनिभर्सिटी को चाइना एकेडेमी अफ कल्चर एण्ड टुरिज्मका प्रोफेसर वु लियुनले जनाएका छन् ।
चिनियाँ अधिकारीहरुले त्यस्तो कार्डलाई डिजिटल भुक्तानी माध्यम अलिपेसँग एकीकृत गरेपछि प्रभावकारिता थप बढ्ने विश्वास लिएका छन् । बेइजिङको सबवेमा १७ लाइन र ३३५ स्टेशन छन् । तीमध्ये थ्यानमेन स्क्वायरको पश्चिम लाइन नम्बर १ स्टेसनलगायत आठ ठाउँमा बहुभाषी जानकारीको व्यवस्था गरिएको छ ।
चीनको राजधानीमा पछिल्लो सात महिनामा एक करोड बढी विदशी पुगेका छन् । यो संख्या अघिल्लो वर्षको १२ महिनाको बराबर हो ।
बेइजिङपछि चीनका सांघाई र ग्वाङ्चौ शहरले पनि विदेशी यात्रुको सुविधालाई ध्यानमा राखेर यस्तै पासको व्यवस्था गर्न लागेका छन् । उनीहरुले स्थानीय ट्याक्सीको भाडा अन्तर्राष्ट्रिय क्रेडिट कार्डबाट समेत भुक्तानी गर्न सक्ने छन् ।
टिप्पणीहरू