बंगलादेशको प्रदर्शन थप हिंसात्मक, अध्ययनरत विद्यार्थी सबै सुरक्षित
बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासले हाल त्यहाँ अध्ययनरत करिब चार सय नेपाली विद्यार्थी सुरक्षित रहेको बताएको छ । अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किसकेको उल्लेख गर्दै दूतावासले बाँकी करिब चार सय विद्यार्थीसहित अन्य नेपाली सुरक्षित रहेको जानकारी दिएको छ ।
उनीहरु निरन्तर दूतावासको सम्पर्कमा रहेको जनाउँदै दूतावासले सबै नेपालीलाई आफू बसेको स्थानमा सुरक्षित रहन र स्वदेश फर्कन चाहनेलाई सुरक्षा प्रबन्ध सुनिश्चित भएपछि मात्र यात्रा गर्न सूचित गराएको छ ।
‘बंगलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब चार सय विद्यार्थीहरु सहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहनुभएको र उहाँहरुसँग यस राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ’,भनिएको छ, ‘नेपाल फर्किन चाहने विद्यार्थीहरु तथा सम्पूर्ण नेपालीहरुले यस राजदूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकूल भएमा दूतावासका द्वितिय सचिव योजना बम्जनको फोन नम्बर ८८०१८८०६९१०१३ वा रिया क्षेत्रीको फोन नम्बर ८८०१७४५४०७९५९ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । बंगलादेशमा सरकारविरोधी आन्दोलन थप हिंसात्मक बन्दै गएको छ ।
सरकारी सेवामा गरिएको विभेदपूर्ण आरक्षण र कोटा प्रणालीको विरोधमा शुरु झडपले उग्र रुप लिएपछि कर्फ्यु लगाइएको छ । पछिल्लो महिनादेखि शुरु भएको आन्दोलनमा हालसम्म तीन सयभन्दा बढीको ज्यान गइसकेको छ । आन्दोलनकारीहरुले सरकारको राजीनामा अन्तिम समाधान भन्न थालेका छन् ।
टिप्पणीहरू