पूर्वमा पनि भारतीय प्राविधिकहरुकै हालिमुहाली
कोशी प्रदेशका उद्योगहरुमा नेपालीभन्दा भारतीय प्राविधिक बढी पाइएको छ । स्वदेशी शिक्षालयबाट उत्पादित प्राविधिक जनशक्तिलाई रोजगारी दिन उद्योगीहरु हिच्किचाउँदा भारतीय प्राविधिकको बोलबाला भएको हो । सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरुले भारतीय प्राविधिकलाई प्राथमिकतामा राखेको पाइन्छ ।
उद्योगहरुले सकेसम्म भारतीय प्राविधिकलाई नै रोजगारी दिने गरेका छन् । अधिकांश उद्योगमा स्वदेशी प्राविधिकको संख्या न्यून छ । मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेल उद्योगहरुले नेपाली प्राविधिकलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने बताउँछन् । यहाँका प्राविधिक जनशक्ति मुलुकभित्र मात्र नभई अन्तर्राष्ट्रिय बजारका लागिसमेत दक्ष रहेको उनको भनाइ छ ।
स्वदेशी प्राविधिकका लागि स्वदेशमै रोजगारीको व्यवस्थापन गर्न सके प्राविधिक विश्वविद्यालयको मनोबल बढ्ने र नेपाली जनशक्ति पनि स्वदेशमै आत्मनिर्भर बन्ने उनको विश्वास छ । ‘प्राविधिकहरुले स्वेदशमै रोजगारी पाए भने विश्वविद्यालयको उत्प्रेरणा जाग्छ । नेपाली जनशक्ति स्वदेशमै आत्मनिर्भर बन्न सक्छन् । प्राविधिक सीपमा दक्ष युवाहरुलाई दिगो रोजगारी दिलाउन सके परनिर्भरता अन्त्य हुने र देश विकासको महाअभियान पनि सफल हुन्छ’, उनले भने ।
भरपर्दो रोजगारीको अवसर नहुँदा प्राविधिक जनशक्ति विदेशिन बाध्य भएको उनले गुनासो पोखे । मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक क्याम्पस मनमोहन पोलिटेक्निकबाट वर्षेनी तीन सय डिप्लोमा तहमा विभिन्न विषयका दक्ष जनशक्ति उत्पादन हुन्छन् । तर, केहीले मात्र करिडोरका उद्योगहरुमा रोजगारी पाउँछन् । अन्य विदेश पलायन हुन्छन् । पोलिटेक्निकका प्राचार्य सुदिप अधिकारी स्वदेशी प्राविधिकहरु दक्ष र भरपर्दाे नहुने पुरानो सोच हटाउन नसक्दा यो अवस्था आएको बताउँछन् ।
भन्छन्,‘हामीले पुरानो सोच बदल्न सकेका छैनौं । स्वदेशी प्राविधिक भरपर्दो र दक्ष हुँदैनन् भन्ने मान्यता तोड्न नसक्दा उद्योगहरु स्वदेशी प्राविधिकलाई रोजगारी दिन हिच्किचाएका हुन् ।’ उद्योग संगठन, मोरङका अध्यक्ष राकेश सुरानाले उत्पादन भएका नेपाली जनशक्तिलाई अपेक्षाअनुसार पारिश्रमिक दिन नसक्दा भारतबाट प्राविधिक ल्याउनुपरेको बताए ।
‘स्वदेशी जनशक्तिलाई रोजगारी दिने सबैको चाहना हो । तर, जनशक्तिका लागि उद्योग सुहाउँदो हुनुपर्छ । हामीले स्वदेशी प्राविधिकलाई उनीहरुको अपेक्षाअनुसार पारिश्रमिक दिन सक्दैनौं । त्यसैले उहाँहरु वैदेशिक रोजगारीतर्फ आकर्षित हुनुभएको हो’,उनले भने । यता, अरिहन्त फाइवर्षका व्यवस्थापक नारायणप्रसाद लामिछाने स्वदेशी प्राविधिकहरुबीचमै काम छाडेर गइदिने बताउँछन् ।
आफ्नो लगानी खेर जाने भएकाले उनीहरुलाई रोजगारीमा राख्नबाट हिच्किचाउनुपरेको उनको भनाइ छ । उनले गुनासो पोखे, ‘स्वदेशी विश्वविद्यालयले पूरा अवधि काम गर्ने हो भने उहाँहरुको रोजगारीमा लगानी गर्न हामी तयार छौं । सिकाएर निपुर्ण बनायो, बीचमै काम छोडेर हिँडिदिन्छन् । हाम्रो लगानी खेर जान्छ ।’
रिलायन्स इण्डस्ट्रिजका व्यवस्थापक आशिस काफ्लेले बीचमै काम छोड्ने भएकाले स्वदेशी प्राविधिकमा भर पर्न नसकिएको गुनासो गरे । उनीहरुले पूरा अवधि काम गरेमा मात्र रोजगारी दिन सकिने काफ्लेको भनाइ छ ।
टिप्पणीहरू