विपद् प्रभावितले टहरा बनाउन अनुदान पाउने
विपद प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि अनुदान दिनेसम्बन्धी कार्यविधि स्वीकृत भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आज बसेको बैठकले ‘विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८१’ स्वीकृत गरेको हो ।
समितिका अध्यक्ष एंव गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको उक्त बैठकले बाढीपहिरोले भत्किएका तथा क्षति पुर्याएका तटबन्धहरु तत्काल मर्मत सम्भारको निम्ति ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमार्फत काम अघि बढाउने निर्णय पनि गरेको छ ।
बैठकले डेंगु, झाडापखाला, हैजाजस्ता मनसुनसँगै महामारीजन्य रोगको प्रकोप बढ्नसक्ने सम्भावनालाई ख्याल गरी ती रोग फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खानेपानी मन्त्रालयमार्फत तत्कालै आवश्यक कार्य गर्न समेत निर्देशन दिएको छ ।
टिप्पणीहरू