महिलालाई पहिलोपटक उपत्यकाको सुरक्षा जिम्मा
नेपाल प्रहरीका उच्च अधिकृतहरुको आज सरुवा हुन लागेको छ । छानबिनमा रहेका अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) बाट हेडक्वार्टरमा तानेर थप अनुसन्धान गरिने स्रोतको दाबी छ ।
उनीवरुद्ध परेका विभिन्न उजुरीमाथि आर्थिक प्रशासन हेर्ने एआइजी टेकप्रसाद राईको संयोजकत्वमा गठित पाँच सदस्यीय टोलीले गत सातादेखि छानबिन गरिरहेको छ ।
हेडक्वार्टरस्थित अपराध अनुसन्धान विभागका एसएसपी नवीन राई,उजुरी छानबिनका एसपी प्रकाश मल्ल,कानुन हेर्ने डिएसपी रुकबहादुर खड्का र इन्जिनियर डिएसपी मुकेश तिवारी छानबिन टोलीमा छन् । ज्ञवालीमाथि उमेर,बिदेशी पिआर,विभिन्न घोटालाको उजुरीमा अनुसन्धान जारी छ ।
रवि लामिछाने गृहमन्त्री बनेसङ्गै एकाएक केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुख बनाइएका उनी र उनको कोर टिममाथि यसबीच प्रहरी मुख्यालयमा दर्जनौं उजुरी परेको थियो । फागुनमा लामिछानेले सुन काण्डको थप प्रभावकारी अनुसन्धान गर्ने भन्दै ज्ञवालीलाई त्यहाँ लगेका थिए । तर ज्ञवालीमाथि नै विभिन्न बैंकका कर्जा काण्ड मिलाउने,एलओडी डिस्कोको नाबालिका करणी,बालमन्दिरको जग्गा घोटाला,सेन्चुरी बैंकको ठगीलगायत विभिन्न प्रकरणमा लेनदेन गरेकोसमेत उजुरी परेको थियो ।
आजै उपत्यका प्रहरी कार्यालय प्रमुखको पनि सरुवा हुँदैछ । जसमा पहिलोपटक किरण बज्राचार्यले जिम्मेवारी सम्हाल्ने प्रस्ताव गृहबाट क्याबिनेटमा पुगिसकेको छ । हाल उपत्यका हेरिरहेका दिपक थापालाई सिआइबी प्रमुख बनाउने र चैतमा उनी आइजिपी बनेसङ्गै पुसमा अवकाश पाउने किरण या दिपकको ठाउँमा अपराध अनुसन्धानका टेकबहादुर तामाङ्गलाई पठाइने समझदारीसमेत यसवीच बनिसकेको बुझिएको छ ।
टिप्पणीहरू