राजमार्गसहित अधिकांश ग्रामीण सडक अवरुद्ध
लगातारको वर्षापछि ठाउँठाउँमा गएको बाढीपहिरोबाट राजमार्गसहित विभिन्न ग्रामीण सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरीले बाढी र पहिरोका कारण १४ वटा राजमार्ग तथा सडकखण्डमा क्षति पुगेको जनाएको छ ।
तीमध्ये पाँच वटा सडकखण्ड एकतर्फी सञ्चालनमा आएका छन् । असार ६ गतेदेखि अवरुद्ध संखुवासभाको मकालु गाउँपालिका–३, स्थित उत्तर दक्षिण कोशी राजमार्ग अझै खुलेको छैन । उक्त राजमार्ग कम्तीमा बर्खाभर नखुल्ने प्रहरीले जनाएको छ ।
त्यस्तै, गएरातिदेखि परेको वर्षाले सुनसरीको बराहक्षेत्र नगरपालिका–१, धनसारेस्थित चतरा–बराहक्षेत्र भित्री सडकखण्ड पनि अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण सडकमा खसेको पहिरो हटाउन सकिएको छैन ।
दोलखाको कालिन्चोक नगरपालिका–४, झामार्सीस्थित चरिकोट सडकखण्ड, म्याग्दीको बेनी–दरवाङ र बेनी–जोमसोम सडकखण्ड, बागलुङको कालीगण्डकी करिडोर र प्युठानको नौबहिनी गाउँपालिका–१, हाम्पालस्थित स्याउलीबाग्दुला सडकखण्ड समेत अवरुद्ध छ ।
दाङको घोराही तुलसीपुर सडकखण्ड र रुकुम पश्चिमको आठ बिसकोट नगरपालिका–११, खरखरेस्थित भेरी करिडोरमा पनि बाढीपहिरोका कारण यातायातका साधन गुड्न सकेका छैनन् । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
टिप्पणीहरू