राजधानीका होस्टलहरुमा राति १० बजेपछि मानिसको आउजाउ ह्वात्तै
काठमाडौं महानगरपालिकाले छात्राबास (होस्टल) को अनुगमन गर्ने भएको छ । होस्टलमा अवाञ्छित क्रियाकलाप हुने गरेको गुनासो आएपछि महानगर क्षेत्रभित्रका छात्राबासको अनुगमन गर्न लागिएको हो ।
हिजो महानगरको अनुगमन समितिकी संयोजक एवम् उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा नेपाल होस्टल एशोसिएसन, होस्टल व्यवसायी संघसहितका पदाधिकारीको उपस्थितिमा बसेको बैठकमा उनले पूर्ण रुपमा मापदण्डको पालना गरेर मात्र होस्टल सञ्चालन गर्नुपर्ने बताएकी छन् ।
होस्टल संघको तथ्याङ्कअनुसार महानगर क्षेत्रभित्र सञ्चालित होस्टलमा झण्डै ४० हजार विद्यार्थी बसोबास गर्छन् । डंगोलले भनिन्, ‘यत्रो ठूलो संख्यामा बसोबास गर्ने ठाउँको अवस्था र वितरण हुने सुविधाको निगरानी अनिवार्य भएको छ ।’
उपप्रमुख डंगोलले होस्टलको अवस्था, सेवासम्बन्धी व्यवस्थासँगै त्यहाँ बस्ने छात्राछात्र तथा अन्य व्यक्तिको व्यवस्थित सूचना अभिलेखनबाट व्यवस्थापनको काम थालनी गरिनुका साथै समूह विभाजन गरेर अनुगमन गर्ने जानकारी दिइन् ।
यस्तै, होस्टलमा चार जना बस्न मिल्ने कोठामा पाँच गुणाबढी राखिएको र आवासीय भवनलाई व्यावसायिक बनाइएको पाइएको छ । छलफलमा वडा नम्बर १० का सदस्य सतिश तण्डुकारले भने, ‘रातको १० बजेपछि पनि होस्टलमा आवागमन भइरहन्छ । त्यसपछि को आउँछ, को जान्छ ? किन आउँछ, किन जान्छ ? केही थाहा हुँदैन ।’
महानगरका शिक्षा अधिकारी गोविन्द्रप्रसाद शर्माले विद्यार्थीहरुको अवस्था जान्नका लागि भएपनि होस्टेलको अनुगमन गर्नुपर्ने बताए । छलफलमा होस्टल एशोसिएशन र संघका पदाधिकारीहरुले करदेखि घरको मर्मत सम्भार, पानीको जोहो आफैंले गर्नुपर्ने भएकाले व्यावसायिक संकटमा रहेको बताए ।
छात्रावास (होस्टेल) लाई व्यवस्थित, मर्यादित, सुरक्षित र पारदर्शी बनाउन र त्यहाँ बस्ने विद्यार्थीको हितका लागि महानगरले यसअघि नै छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड, २०८० ल्याएको थियो । मापदण्डमा छात्रावासभित्र न्यूनतम सबै पूर्वाधार हुनुपर्ने व्यवस्था छ । जसमा शौचालय, भान्छा घर, पानीको आपूर्ति, विद्युत, प्रत्येक छात्रछात्राका लागि पलङ्, दराज र टेबलसहित फोहोरमैला व्यवस्थापन तथा सरसफाईको प्रबन्ध हुनुपर्छ ।
त्यस्तै, कोठाहरु फराकिला, खुल्ला, पर्याप्त प्रकाश छिर्ने तथा दोहोरो हावा आउने जाने हुनुपर्छ । विपद् व्यवस्थापनका लागि फायर इस्टीङ्ग्वीसर लगायत सामग्री तथा उपकरण, प्राथमिक उपचारको लागि सामग्री राख्नुपर्ने तथा कोठा र शौचालयबाहेक अन्य स्थानको निगरानीका लागि सिसिटिभी क्यामरा जडान समेत गरिनुपर्छ ।
योसँगै छात्र र छात्राका लागि सञ्चालन गरिने भवन आमनेसामने हुन नहुने तथा एकबाट अर्कोको दूरी कम्तीमा दुई सय मिटर हुनुपर्छ । मापदण्डमा होस्टल सञ्चालकको उमेर ३० वर्ष पूरा भएको हुनुपर्ने र अन्य शुल्क, दण्ड सजायको समेत व्यवस्था छ ।
टिप्पणीहरू