राति सवारी साधन नचलाउन निर्देशन

राति सवारी साधन नचलाउन निर्देशन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अति भारी वर्षाको उच्च जोखिम रहेका जिल्लामा रात्रिकालीन बस तथा यात्रु वाहक सवारी साधन नचलाउन निर्देशन दिएको छ । प्राधिकरणले आज र भोलि घनघोर वर्षाको सम्भावना रहेकाले उच्च जोखिममा रहेका ३४ जिल्लामा रातको समयमा सवारी साधन नचलाउन भनेको हो ।

जसअनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोरखा, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची, रुकुम पश्चिम, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडीमा ठूलो वर्षाको उच्च जोखिम छ । 

‘रातको समयमा यात्रा गर्दा बाटोमा आउनसक्ने बाढी र पहिरोको आकलन गर्न कठिन हुने भएकोले सम्भावित क्षति रोक्न उच्च जोखिम भएका यी जिल्लामा रात्रीकालिन बस नचलाउनू,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ती जिल्लामा विपद्को जोखिममा रहेकाहरुलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्न पनि निर्देशन दिइएको छ । 

प्राधिकरणले जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र प्रतिकार्य गर्न विपद्सम्बन्धी काम गर्ने साझेदार संस्थासँग समन्वयमा रहन, भारी वर्षा हुने ती जिल्लाहरुमा जुनसुकै बेला विपद् आउन सक्ने हुनाले खोज तथा उद्धारको लागि तीन वटै सुरक्षा निकायहरुलाई तयारी अवस्था रहन पनि आग्रह गरेको छ । 

योसँगै आम नागरिकलाई समेत भारी वर्षाको अवधिभर अत्यन्त जरुरी अवस्थाबाहेक यात्रा नगर्न, नदी किनार र पहिरोको जोखिममा रहेका बासिन्दालाई चनाखो रहन, दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान र आपत परेमा सुरक्षा निकाय, एम्बुलेन्सलगायतलाई तुरुन्तै फोन गर्न अनुरोध छ ।

टिप्पणीहरू