कसैलाई खातैखात,कसैलाई खाली हात
सरकारले गत शुक्रबारको निर्णयबमोजिम आइतबार सार्वजनिक बिदाका दिन नेपाल विद्युत प्राधिकरणका दुई जना सञ्चालकलाई हटाउँदै अर्का दुई जनालाई नियुक्त गरेको जानकारी गरायो । डेडिकेटेड र ट्रंक लाइन महशुल बक्यौता नतिरेका व्यवसायीहरुबाट प्राधिकरणले कुनै हालतमा रकम उठाउनुपर्ने अडान राखेवापत कपिल आचार्य र भक्तबहादुर पुन त्यसरी हटाइएका थिए ।
ऊर्जामन्त्री प्राधिकरण सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था छ । उनैले आचार्य र पुनको ठाउँमा महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्कीलाई नियुक्तिको जानकारी दिएका हुन् । त्यसरी नियुक्त गरेपछि मन्त्री खड्का सोमबार तीन साताका लागि अमेरिका उडेका छन् ।
यता प्राधिकरण सञ्चालक बनेका महेन्द्र गुरुङलाई सामाजिक सञ्जालमा बधाई दिने क्रममा एकजनाले गुरुङले हालसम्म ओगटेका जिम्मेवारी र पदको फेहरिस्त उल्लेख गरेका छन् ।
जसअनुसार गुरुङले कोशी प्रदेशका मुख्यमन्त्रीको आर्थिक सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् । उनी पञ्चेश्वर विकास प्राधिकरणका पूर्व प्रमुख कार्यकारी हुन् भने विद्युत विकास विभागका महानिर्देशक पनि थिए । त्यसैगरी नेपाल इन्जिनियरिङ एशोसिएसनको पूर्व अध्यक्ष रहेका गुरुङ नेपाल सरकारका पूर्व सहसचिव र इञ्जिनियर हुन् ।
टिप्पणीहरू